काठमाडौं । काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको सीमा भएर बग्ने चौरी खोलामा पहिचान भएको ६ मेगावाटको चौरी खोला जलविद्युत आयोजना निर्माणको ठेक्का कुशल प्रोजेक्ट्स नेपाल प्रालिले पाएको छ । यसअघि सौर्य विद्युत आयोजना मात्रै निर्माण गरेको कुशल प्रोजेक्ट्सले पहिलो पटक जलविद्युत आयोजना निर्माणको ठेक्का पाएको हो ।
प्रवर्द्धक चौरी खोला हाइड्रोपावर प्रोजेक्ट प्रालि र कुशल प्रोजेक्ट्सबीच बुधबार इपिसी (इन्जिनियरिङ, खरिद तथा निर्माण) मोडलमा आयोजना निर्माण गर्न गरी ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कुशल प्रोजेक्ट्सले १ अर्ब १४ करोड रुपैयाँमा यो आयोजना निर्माण सम्पन्न गरी प्रवद्र्धकलाई हस्तान्तरण गर्नेछ ।
सम्झौता भएको मितिले अबको २ महिनामा आयोजनाको डिजाइज तयार गरी आउने सुख्खा यामबाट संरचना निर्माणको काम थालिने कुशल प्रोजेक्ट्स नेपाल प्रालिका अध्यक्ष प्रशान्त तातेडले बताए । उनले अबको डेढ वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताए ।
‘हामीले यसअघि सौर्य विद्युत आयोजनामा मात्रै काम गरिरहेका थियौं,’उनले भने, ‘पहिलो पटक जलविद्युत आयोजनाको सम्पूर्ण कामको इपिसी ठेक्का लिएका छौं । जलविद्युत विज्ञहरूको टोलीबाट समयमै काम सम्पन्न गर्नेछौं भन्ने विश्वास दिलाउन चाहान्छु ।’
कुशल प्रोजेक्ट्सले नेपालमा रुफटप सहित ३७ मेगावाटका सौर्य विद्युत आयोजना निर्माण गरिसकेको छ । यो कम्पनीले लक्ष्य अगावै सौर्य विद्युत आयोजनाको निर्माण सम्पन्न गरेको छवि बनाएको छ ।
यो आयोजना निर्माण गर्न यसअघि सत्यशाही परिनिर्माण जेभीसँग ठेक्का सम्झौता भएको थियो । यो ठेकेदार कम्पनीले काम नगरेपछि कुशल प्रोजेक्ट्स नेपालसँग ठेक्का सम्झौता गरेर आयोजनाको निर्माण अगाडि बढाउन लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र न्यौपानेले बताए ।
उनका अनुसार सत्यशाहीसँग भएको पूरानो ठेक्का औपचारिकरूपमा तोड्ने तयारी भइरहेको छ । ‘पहिलेको ठेकेदार कम्पनीले काम गरिदिएको भए यतिबेला यो आयोजनाको विद्युत प्रसारण प्रणालीमा आइसक्ने थियो । तर, उसले काम नगरिदिएकाले अहिले फेरि अर्को निर्माण कम्पनीसँग सम्झौता गरेका छौं । यो कम्पनीले समयमै काम सम्पन्न गर्ने आशा लिएको छु’ उनले भने ।
आगामी हिउँददेखि निर्माणमा जाने आयोजनाको अहिले पूर्व तयारीको कामहरू भइरहेको कम्पनीका सञ्चालक नविन सिंहले बताए । उनका अनुसार आयोजना स्थलमा आवासगृह बनाउने, खोला फर्काउने लगायत काम भएको छ ।
यसअघि सौर्य विद्युत आयोजनामा मात्रै लगानी गरेका सिंहले पहिलो पटक चौरी खोलाबाट जलविद्युतमा लगानीको सुरुवात गरेका हुन् । चौरी खोलासँगै भविष्यमा अरु जलविद्युत आयोजनामा पनि लगानी गर्ने योजना रहेको सिंहले बताए ।
नेपाल विद्युत प्राधिकरणले दिएको तालिका अनुसार २०८१ सालभित्र यो आयोजना निर्माण सम्पन्न गरी प्रसारण प्रणालीमा जोडिसक्नु पर्नेछ । यो आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत विद्युतगृहदेखि २ किलोमिटरको दुरीमा निर्माण हुने ३३ केभी काफ्ले सबस्टेसनमा जोडिनेछ । त्यहाँबाट मुढे हुँदै सुनकोसी सबस्टेसनसम्म पुयाईनेछ ।
आयोजनाले वार्षिक ३ करोड ५५ लाख युनिट विद्युत उत्पादन गर्नेछ । यो आयोजना निर्माण सम्पन्न हुँदा १ अर्ब २० करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा ऋण लगानी सम्झौता भइसकेको छ । बैंकहरूले गर्ने लगानी कूल लागतको ७२ प्रतिशत छ । २८ प्रतिशत स्वपुँजी लगानी छ ।