Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

जीडीपीमा बागमती प्रदेशको हिस्सा ३७ प्रतिशत, कर्णालीको भने ४ प्रतिशत मात्र


काठमाडौं । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सबैभन्दा बढी हिस्सा बगमती प्रदेशले ओगट्ने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ ।कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० कोे प्रादेशिक कुल गार्हस्थ्य उत्पादन सम्बन्धी अनुमानअनुसार राष्ट्रिय जीडीपीमा बागमतीको सबैभन्दा वढि ३६.८ प्रतिशत योगदान रहनेछ । यो राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मुल्य) मा करिव १९ खर्व ८१ अर्ब रुपैयाँ हो ।

गत बैशाख १९ मा कार्यालयले सार्वजनिक गरेको यस आबको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ५३ खर्व ८१ अर्व रुपैयाँ रहने अनुमान छ ।

प्रदेशबीच जीडीपीको आकारमा ठूलो असमानता देखिएको थियो । सात प्रदेशमध्ये राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ४.१४ प्रतिशत रहने अनुमान छ । यो कुल राष्ट्रिय जीडीपीको २ खर्व २१ अर्बको हाराहारी हुन आउँछ । बागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढि योगदान पुर्याउने प्रदेशहरूमा क्रमशः कोशी, लुम्बिनी, मधेस, गण्डकी र सुदुरपश्चिम रहेका छन् ।

कार्यालयले कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर चालु आबमा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १.८६ प्रतिशत अनुमान गरिएकोमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढि ३.३ प्रतिशत र बागमती प्रदेशको वृद्धिदर सबैभन्दा कम १.४ प्रतिशत रहने अनुमान गरिएको छ । संशोधित अनुमान अनुसार गत आबमा गण्डकी प्रदेशको बुद्धिदर सबैभन्दा बढि ६.३५ प्रतिशत देखियो भने मधेश प्रदेशमा सबैभन्दा कम दर ४.६ प्रतिशत रहने देखिएको थियो ।

औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापहरूलाई हेर्दा गत आब र यस आबमा बागमती प्रदेश बाहेक सबै प्रदेशहरूमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढि देखिन्छ । यसो हुनुमा यस प्रदेशमा बढ्दो शहरीकरण, बढ्दो जनसंख्या, राष्ट्रिय तहका ठुला व्यापारिक कारोवारहरु रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख नेबिन लाल श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र कोशी, मधेश र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामै कायम रहेको छ भने बागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोवार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ । यसैगरी गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो रहेको देखिन्छ । वाग्मती र मधेश प्रदेश बाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिएको कार्यालयका निर्देशक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

अर्थतन्त्रका विविध पक्षहरूलाई मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन तथा मूल्यांकन गर्नका लागि सार्वजनिक गरिएको तथ्यांक महत्वपूर्ण हुने उपप्रमुख श्रेष्ठको भनाइ छ । प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशहरूमा देखिएका सामाजिक तथा आर्थिक विभेदहरुलाई न्यून गर्न आवश्यक नीति निर्माण गर्न र विकासका गतिविधिलाई प्रभावकारी बनाउन प्रदेशस्तरको कुल गार्हस्थ्य उत्पादन अत्यावश्यक हुन्छ । कार्यालयले समष्टिगत आर्थिक सूचकहरूमध्येको महत्वपूर्ण सूचक प्रदेशस्तरको कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्ने कार्य आब २०७५र७६ देखि शुरु गरेको थियो ।

यसरी अनुमान गर्ने सिलशिलामा प्रचलित विधि ‘टप डाउन एप्रोच’ मा आधारित भएर उपलब्ध तथ्यांकको उच्चतम उपयोग गरेको छ । यस विधि अनुसार राष्ट्रिय तहमा अनुमान गरिएको आर्थिक क्रियाकलापहरूका वर्गीकरण अनुसारका प्रत्येक क्षेत्रको कुल मूल्य अभिवृद्धिका अनुमानहरूलाई उपयुक्त सूचकको आधारमा प्रदेश तहमा विभाजन गरिन्छ । यसरी गरिएको बांडफाँडको विश्वसनीयता प्रदेश तहका उपलब्ध सूचकहरूमा भर पर्दछ ।

यो प्रक्षेपण गर्दा हालका दिनहरूमा नेपालमा कोरोनाको प्रभावको अवस्था नभएको र विश्वव्यापी रुपमा आपूर्ति श्रृंखला खलवलीएको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मुल्य वृद्धिको असर हाम्रो अर्थतन्त्रमा पनि परेको विषयलाई समेटिएको छ । यस वर्षको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनको आर्थिक वृद्धि दरको अनुमान उपभोक्ताको मूल्यमा १.८६ प्रतिशत हुने अनुमान तथा अघिल्लो आबको संशोधित आर्थिक वृद्धि दर ५.६१ प्रतिशत भएको विवरण सार्वजनिक गरिसकेको छ ।

प्रदेश तहको वार्षिक कुल गार्हस्थ्य उत्पादन

कोशी प्रदेशः यस आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिव ८ खर्व ४९ अर्व रुपैयाँ हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिव ७ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रतिशत योगदान पुर्याउने अनुमान छ ।  यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.४७ प्रतिशत थियो भने यस आवमा संकुचन आई २ प्रतिशत मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३३.२ प्रतिशत कृषि क्षेत्रको रहनेछ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने छ । कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्यपालन समेतलाई जनाउँछ ।

मधेश प्रदेशः यस आवमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव ७ खर्च ७ अर्ब रुपैयाँ हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिव ६ खर्व ५० अर्व रुपैयाँ रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.१५ हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत १३.१५ योगदान पुर्याउने अनुमान गरिएको छ । यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.६३ प्रतिशत थियो भने यस आवमा संकुचन आई १.६९ प्रतिशत मात्र कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा वढि योगदान ३५.२ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२५ खानी तथा उत्खनन क्षेत्रको रहेको छ ।

बागमती प्रदेशः यस आवमा यस प्रदेशको गार्हस्थ उत्पादन उपभोक्ताको कुल मूल्यमा करिव १९ खर्व ८१ अर्ब हुने अनुमान भने गत आवको संशोधित अनुमान करिव १८ खर्ब १९ अर्व रुपैयाँ रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ३७.९५ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा ३६.८६ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ६.३० प्रतिशत थियो भने यस आवमा संकुचन आई १.४४ प्रतिशत कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २३.६४ व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३५ पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापहरू क्षेत्रको रहेको छ ।

गण्डकी प्रदेशः यस आवमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव ४ खर्व ८२ अर्ब हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिव ४ खर्व ३७ अर्व रुपैयाँ रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ८.१४ हिस्सा ओगटेको यस प्रदेशले यस आवमा ९ प्रतिशत योगदान पुर्याउने अनुमान छ । यसै गरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ६.३५ प्रतिशत थियो भने यस आवमा संकुचन आई ३.२६ प्रतिशत मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा वढि योगदान २५.९ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

लुम्बिनी प्रदेशः यस आवमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव ७ खर्व ६२ अर्ब रुपैयाँ हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिब ६ खर्व ९७ अर्व रुपैयाँ रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा १४.२ प्रतिशत योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.०३ प्रतिशत थियो भने यस आवमा संकुचन आई २.०६ प्रतिशत मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २९.८ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

कर्णाली प्रदेशः यस आवमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव २ खर्व २१ अर्व रुपैयाँ हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिव २ खर्व १ अर्व रुपैयाँ रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत ४.१ प्रतिशत योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ५.३२ प्रतिशत थियो भने यस आवमा संकुचन आई १.९१ प्रतिशत कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३०.८ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

सुदुरपश्चिम प्रदेशः यस आवमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ३ खर्व ७६ अर्व रुपैयाँ हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिव ३ खर्व ४५ अर्व रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत ७ प्रतिशत योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.७८ प्रतिशत थियो भने यस आवमा संकुचन आई १.७८ प्रतिशत कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा वढि योगदान ३३.४ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।


Read Previous

मेक इन नेपाल अभियानले नेपाली उत्पादन विश्व बजारमा पुर्याउन याेगदान गर्नेछ

Read Next

सुनकोसी-३ बनाउन ६ महिनाभित्र जोइन्ट भेन्चर सम्झौता गर्ने सहमति

Leave a Reply

Your email address will not be published.