
काठमाडौ ।
आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्याउने उद्देश्यले डेटिङ एप एस्ट्रोपड सञ्चालनमा ल्याएको छ ।
अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले शुक्रबार नेपालमा पहिलो पटक सो डेटिङ एप एस्ट्रोपड सञ्चालनमा ल्याएर सार्वजनिक पनि गरेको छ ।
नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्याउने उद्देश्यले ‘मेड इन स्टार्स’ नाराका साथ एप सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले विश्वका लागि केही बनाउने प्रवेशद्वारका रुपमा रहेकाले एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनी शुरु गरिएको जानकारी दिए । ‘आफ्नो अनुभवलाई नेपालमा पनि बाँड्नका लागि हामीले डेटिङ्ग एप एस्ट्रोपड सार्वजनिक गरेका हौं, यो अन्य सामान्य डेटिङ एप भन्दा फरक छ ।’–उनले भने–‘यसमा नेपाली युवाहरुले वैदिक ज्योतिष शास्त्रका आधारमा आफूलाई मिल्ने जोडि वा साथीहरु छनोट गर्न सक्ने सुबिधा छ ।’
कोइरालाले रिकेश र विवेक नामका साथीहरुसँग मिलेर सो कम्पनी स्थापना गरेका थिए । एपमार्फत् विश्वभर नै ज्योतिष विज्ञानसम्बन्धी सेवा दिनका लागि बनेको परियोजनामा गुरु समुन्द्र नामका अर्का सहकर्मी जोडिएपछि यसलाई विस्तार गरी हाल ४० जनालाई रोजगारी दिईरहेको कम्पनीले जनाएको छ ।
विश्वभरमा १० लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गर्दै आइरहेको एस्ट्रो वेद मानिसको जीवन सहज बनाउँदै उनीहरुलाई खुशी जीवन बाँच्न सल्लाह दिने उद्देश्यले ज्योतिषीय सेवा प्रदान गर्ने नेपालमा रहेको कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले जानकारी दिए ।
एस्ट्रोपड म्याच के का लागि ?
चर्चित डेटिङ एपहरुले मानिसलाई सामान्यतया राम्रा फोटोका साथमा आफ्ना विवरण राखेर आफ्ना विशेषता, व्यवहार, जीवनशैली तथा संवेदनशील पक्षलाई बढी उजागर गर्न प्रेरित गर्छन् तर एस्ट्रोपडले वेदहरुमा भएका जोडी बनाउने पौराणिक ज्ञानलाई हालको तीव्रगतिमा चलिरहेको अत्याधुनिक डेटिङ प्लेटफर्ममा उपलब्ध गराएको छ।
यसले प्रयोगकर्तालाई कुनै पनि व्यक्ति आफ्ना लागि सही जोडी हो वा होइन भन्ने थाहा पाउन सम्बन्धका लागि आवश्यक मुख्य ७ ओटा पक्षलाई परीक्षण तथा हिसाबकिताब गर्न मद्दत गर्छ । यो स्थानका आधारमा काम गर्ने डेटिङ एप हो जसले प्रयोगकर्तालाई दायाँतर्फ स्वाइप गर्नुअघि ज्योतिष विज्ञानका हिसाबले मिल्दो छ वा छैन भन्ने परीक्षण गर्न सघाउँछ । यो एपमा दायाँतर्फ स्वाइप गर्नुको मतलब कुनै पनि प्रयोगकर्ताले उक्त व्यक्तिप्रति चासो देखाएको छ भन्ने बुझाउँछ।हाल यो एप नेपालमा डाउनलोड गर्नका लागि गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको छ ।







