Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

राहुघाट आयोजनाकाे ३ किलाेमिटर सुरुङ खनियो, अर्को वर्ष विद्युत उत्पादन


काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ आधा खनिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरिरहेको आयोजनाको ६.२ किलोमिटर लामो सुरुङको ५० प्रतिशत काम पूरा भएको हो ।

अहिलेसम्ममा ३ किलोमिटर सुरुङ खनेर सकिएको कम्पनीका कार्यकारी निर्देशक गणेश केसीले बताए । उनका अनुसार सुरुङ खन्ने क्रममा चट्टान कमजोर भेटिएकाले खन्न केही समस्या आए पनि समाधान गरी काम अगाडि बढाइएको छ ।

‘हाम्रो आयोजनाको सुरुङ खन्दै जाँदा चट्टान कमजोर पाइएकाले लक्ष्यअनुसार काम अघि बढाउन सकिएको छैन,’ उनले भने, ‘सुरुङको गोलाइ सानो हुँदा लम्बाई बढी भएकाले पनि सुरुङको काममा समय लागिरहेको छ ।’

उनले अहिले आयोजनाको सबै संरचनामा काम भइरहेको जानकारी दिए । सिभिलतर्फ ४५ प्रतिशत निर्माण पूरा भइसकेको पनि केसीले बताए । बाँध क्षेत्रको काम सुरु भइसकेको छ । बाँध क्षेत्रमा जग खनेर संरचना बनाउन सुरु गरिएको उनले बताए । बर्खाको समयमा पानी परिरहने हुँदा बाँधको काम प्रभावित भए पनि अरु समयमा निरन्तर भइरहेको उनले बताए ।

आयोजनाको विद्युतगृहको जग खन्न कार्य पूरा भई अहिले संरचना तयार भइरहेको छ । पेनस्टक सुरुङमा पनि धमाधम काम भइरहेको छ । १ हजार मिटर लामो पेनस्टक सुरुङ ८ सय मिटर खनिसकिएको छ ।

यो आयोजना अबको १४ महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने पछिल्लो तालिका छ । अब आयोजनाबाट २०८० सालको साउनदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य तोकिएको छ ।

यसअघि २०७८ को मंसिरदेखि विद्युत उत्पादन गर्ने तालिका भए पनि कोरोना (कोभिड-१९) महामारीले लामो समय निर्माण प्रभावित हुँदा उक्त तालिकाअनुसार काम सम्पन्न गर्न नसकेको केसीले स्पष्ट पारे ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कालीगण्डकी कोरिडोर प्रसारण लाइनको दाना सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न ९ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनाको काम २ लटमा विभाजन गरी अघि बढाइएको छ । लट–१ अन्तर्गत सिभिल तथा हाइड्रोमेकानिकलको काम राखिएको छ । लट–२ अन्तर्गत इलेक्ट्रोमेकानिकलको कामलाई राखिएको छ । पहिलो लटको ठेक्का २०७४ मंसिर ५ (सन् २०१७ नोभेम्बर २१) मा ठेक्का सम्झौता भएको थियो ।

सुरुमा यो आयोजना ३२ मेगावाटमा निर्माण गर्ने प्रक्रिया अघि बढाइएको थियो । भारतीय ठेकेदार आइभिआरसिएलसँग पहिलोट पटक २०६७ कात्तिक १८ गते आयोजनाको ठेक्का सम्झौता भएको थियो । पहिलो ठेकेदारले काम नगरेपछि २०७२ साल असार ३ गते ठेक्का रद्ध गरी आयोजनाको क्षमता स्तरोन्नति गरेर ४० मेगावाट बनाएर निर्माण सुरु गरिएको हो ।


Read Previous

‘बूढीगंगा’ नबनोस् बूढीगण्डकी

Read Next

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (एक खाेज अध्ययन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *