Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन सञ्चालन,उपत्यकामा २ सय मेगावाट विद्युत ल्याउन सकिने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २२० केभी मर्स्याङ्दी-काठमाडौं डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्म निर्माण भएको ८२ किलोमिटर प्रसारण लाइन बिहीबारदेखि सञ्चालनमा आएको हो ।

अहिले प्रसारण लाइन १३२ केभीमा विद्युत प्रवाह गरी सञ्चालनमा ल्याएको प्राधिकरणका कार्यकारी निर्देशक कुनमान घिसिङले बताए । उनका अनुसार प्रसारण लाइन सञ्चालनमा आउँदा अब मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन सहज भएको छ ।

घिसिङले प्रसारण लाइन निर्माण भई सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा थप विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको बताए । ‘यसअघिसम्म अहिले सञ्चालनमा रहेको मर्स्याङ्दी-स्यूचाटार १३२ केभी सिंगल सर्किट प्रसारण लाइन मात्रै थियो । यो लाइनबाट १ सय मेगावाट हाराहारीमा मात्रै विद्युत प्रवाह गर्न सकिन्थ्यो,’ उनले भने, ‘मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन तत्कालका लागि १३२ केभीमा सञ्चालममा ल्याएससँगै अब करिब २ सय मेगावाटसम्म विद्युत उपत्यकामा प्रवाह गर्न सकिन्छ ।’

उनले यो प्रसारण लाइन २२० केभीमा सञ्चालन भएपछि थप विद्युत पनि उपत्यकामा भित्र्याउन सकिने बताए । भरतपुर–हेटौंडा १३२ केभी लाइन सिंगल सर्किट मात्रै भएकोले त्यहाँ पनि विद्युत प्रवाहका लागि समस्या रहेकोमा कुलेखानी नचलेको बेला मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनमार्फत काठमाडौं हुँदै हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ थप विद्युत प्रवाह गराउन सकिने उनले बताए ।

घिसिङले यो प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत प्रवाहका लागि लाइफ लाइन भएको बताए । मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडसँग १६ असारमा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण भदौ २०७३ सुरु भएको थियो । तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौं जिल्लामा पर्ने प्रसारण लाइनमा २३३ टावर रहेका छन् ।

प्रसारण लाइनको परामर्शदाता सेवा पावर ग्रिड कर्पोरेसन अफ इन्डिया र नेपालको जेड कन्सल्टले दिएका थिए । प्रसारण लाइनको रुटको विभिन्न ठाउँमा स्थानीयको अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको हो । सबैभन्दा बढी समय धादिङको सिद्धलेक गाउँपालिका–७ स्थिति पिपलटारमा स्थानीयको अवरोध हुँदा निर्माण प्रभावित भएको आयोजना प्रमुख लक्ष्मण फुयालले बताए ।

प्रसारण लाइन अन्तर्गत काठमाडौंको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०/१३२/३३ केभी, ३२० एमभिए क्षमताको सबस्टेसनहरू निर्माणाधीन छन् । सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइनेछ । नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना निर्माण गरिएको हो ।


Read Previous

नेपालको जलविद्युत महंगाे छैन,अन्तरदेशीय बजारमा प्रतिस्पर्धा गर्न सक्छ

Read Next

शनिवारदेखि दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, १० सत्रमा ५ देशका ६० बक्ता सहभागी हुने

Leave a Reply

Your email address will not be published.