Nepal Purbadhar

विद्युत् नीति निर्माणमा गति : मन्त्री श्रेष्ठद्वारा दीर्घकालीन सोचसहित बृहत् छलफलको निर्देशन


काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरु गर्नुभएको छ । शुक्रबार भएको छलफलमा उहाँले ऊर्जा क्षेत्रको समग्र विकास, संरचनागत तथा संस्थागत सुधार, ऊर्जा उपयोग र वातावरण संरक्षणका विषयलाई नीतिमा समेट्नुपर्नेमा जोड दिनुभयो ।


मन्त्री श्रेष्ठले विद्युत् नीति निर्माण गर्दा ऊर्जा क्षेत्रका तथ्य र तथ्यांक स्पष्ट हुनेगरी अघि बढ्न मातहतका निकायलाई निर्देशन दिनुभयो । नीतिको मस्यौदामाथि सरोकारवालासँग व्यापक छलफल गर्दै दीर्घकालीन दृष्टिकोणका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपत वृद्धि, ऊर्जा सम्मिश्रण, जलवायु परिवर्तनको प्रभाव, ‘लस एन्ड ड्यामेज’ तथा कार्बन ट्रेडजस्ता विषयलाई नीतिले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनुभयो ।


भविष्यमा ऊर्जा क्षेत्रमा देखिन सक्ने चुनौतीलाई अहिलेबाटै आँकलन गर्नुपर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले आगामी ऐन–कानुन निर्माणमा विद्युत् नीतिले नै मार्गदर्शन गर्ने भएकाले नीति दीर्घकालीन रूपमा सक्षम हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, जलविद्युत् तथा स्वच्छ ऊर्जाको विकासमा पुँजी परिचालनको स्पष्ट अवधारणा समेट्नुपर्नेमा उहाँले जोड दिनुभयो । ऊर्जा क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै निजी लगानीको सहभागिता बढाउने र लगानीको प्रतिफल सुनिश्चित गर्ने व्यवस्था नीतिमा समावेश गर्नुपर्ने उहाँको भनाइ छ ।


Read Previous

तामाकोशी जलविद्युत कम्पनीले भन्यो, ‘ ठेक्का प्रक्रिया पारदर्शी छ’

Read Next

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar