
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १२ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको छ। सो शेयरका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। त्यस्तै सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर आरक्षित गरिएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ वैशाख १ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।
आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणालीबाट आवेदन दिन सक्नेछन्।
