
Drone shot view of traffic jam at Krishnabhir. Photo: Prakash Chandra Timilsena/ Nepal photo library
काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ । एउटा ट्रक बिग्रिएपछि सडक अवरुद्ध हुँदा सवारी साधन लामो समयसम्म रोकिएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सडकको बीच भागमै ट्रक बिग्रिएपछि सो क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ । प्रहरी र ट्राफिक प्रहरीले अहिले सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्दै जाम खुलाउने प्रयास गरिरहेका छन् ।
प्रहरीका अनुसार बिग्रिएको ट्रक हटाउने काम जारी रहेको र केही समयमै जाम पूर्ण रूपमा खुल्नेछ । यात्रु तथा सवारी चालकलाई धैर्यतापूर्वक यात्रा गर्न आग्रह गर्नसमेत प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका पश्चिमी तथा मध्य भूभागसँग जोड्ने मुख्य मार्ग भएकाले यसलाई ‘काठमाडौंको लाइफलाइन’का रूपमा लिने गरिन्छ । यही सडक अवरुद्ध हुँदा राजधानी भित्रिने तथा बाहिरिने सवारी साधनहरू प्रभावित भएका छन् ।तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना









