
Nanu Bastola ,Candidate of Nepali congress-9, during the door to door campaign for upcoming Federal election at Kalanki on thursday. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library
काठमाडौं । फागुन २१ को निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ पनि चर्चामा रहेको क्षेत्र हो । यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट नानु बास्तोला उमेदवार छिन् । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको उत्साहले उनी उत्साहित छिन् । पार्टीमा युवा पुस्ता र महिलाको प्रतिनिधित्व बढेको उनी बताउँछिन् । आफू यही क्षेत्रको स्थायी बासिन्दा भएको यहाँका जनताको भावना बुझेको अनि जनताका आवाज सुनेको उनी बताउँछिन् । अब तिनलाई कानुनमार्फत सम्बोधन गर्ने समय आएको र त्यसका लागि आफू संसदमा पुग्न चाहेको उनको भनाइ छ । उनी कांग्रेसकी केन्द्रीय सदस्य पनि हुन्।

काठमाडौं-९ मा कलंकी थानकोट नाका पर्ने क्षेत्र भएकाले यसलाई ‘कनेक्टिङ हब’का रुपमा यस क्षेत्रको ट्राफिक व्यवस्थापन पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । सुविधासम्पन्न पार्किङ, वैकल्पिक बाटो निर्माण, तरकारी बजार व्यवस्थापन, नदी वरिपरिका बस्ती र टेकु तथा विष्णुदेवी घाटको संरक्षण र व्यवस्थापनमा काम गर्न आवश्यक रहेको बास्तोलाको भनाइ छ । सुशासन र भ्रष्टाचार नियन्त्रण पनि बास्तोलाका एजेण्डा हुन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्याल (डिपी) छन् भने नेकपा एमालेका अजयक्रान्ति शाक्य छन् । नेपाली कम्युनिष्ट पार्टीले राधाकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ ।
यसअघि काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए ।
तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी


