
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आज (फागुन १३) देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँ मूल्यका १३ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्ने अनुमति पाएको हो। यसमध्ये ५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। दोलखा जिल्लाको बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का बासिन्दाले उक्त कोटामा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ८२ हजार ५०० कित्ता शेयर श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीका लागि बिक्री खुला गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानीयका लागि आवेदन अवधि छिटोमा फागुन २७ गतेसम्म रहनेछ भने माग अनुसार ढिलोमा चैत १३ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ। आयोजनाको कुल लागत करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २९ वर्षभन्दा बढी बाँकी रहेको छ। लगानी फिर्ता हुने साधारण अवधि ९.१९ वर्ष र डिस्काउन्ट अवधिमा १५.३६ वर्ष अनुमान गरिएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड ले पाएको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित सम्बन्धित बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
