Nepal Purbadhar

कांग्रेसको ‘सम्मानित र समृद्ध नेपाल’ भिजन सार्वजनिक


काठमाडौं । नेपाली कांग्रेसले ‘सम्मानित नेपाल, समृद्ध नेपाल’ निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित आफ्नो भिजन दस्तावेज सार्वजनिक गरेको छ। पार्टीका सभापति युवा नेता गगन थापाको नेतृत्वमा सार्वजनिक गरिएको उक्त दस्तावेजमा आगामी पाँच वर्षलाई आधार बनाउँदै दीर्घकालीन संरचनात्मक रूपान्तरणको खाका प्रस्तुत गरिएको छ।

भिजन दस्तावेजमा लोकतान्त्रिक प्रणालीभित्र हरेक नागरिकको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित गरिने उल्लेख छ। जात, धर्म, लिंग, वर्ग वा भूगोलका आधारमा हुने विभेद अन्त्य गर्दै समान अवसर र सम्मान सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

सपना देख्न सक्ने देश निर्माण

दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सार्वजनिक सेवा प्रवाहमार्फत नागरिकलाई प्रगति र उन्नतिको सपना देख्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य दस्तावेजमा समेटिएको छ। युवालाई स्वदेशमै आकर्षक अवसर सिर्जना गर्दै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा जोड्ने योजना अघि सारिएको छ।

लगानी, रोजगारी र उत्पादनमा जोड

उद्यमशीलता प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ। साना तथा ठूला व्यवसायलाई प्रोत्साहन, श्रमिकको उचित मूल्य र सामाजिक सुरक्षा सुनिश्चित गरिने उल्लेख छ। अवैध सम्पत्ति आर्जन र भ्रष्टाचारविरुद्ध कडा नीति अवलम्बन गरिने जनाइएको छ।

कृषि, स्वास्थ्य र शिक्षामा सुधार

कृषिलाई आधुनिक र सम्मानित पेशाका रूपमा विकास गर्दै किसानलाई प्रविधि, बजार पहुँच र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने योजना छ।

‘उपचार नागरिकको मौलिक अधिकार’ भन्ने मान्यताअनुसार सर्वसुलभ स्वास्थ्य बीमा प्रणालीमार्फत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।

शिक्षालाई राष्ट्रको सबैभन्दा महत्वपूर्ण लगानीका रूपमा व्याख्या गर्दै आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षाबाट वञ्चित नहुने व्यवस्था गरिने उल्लेख छ।

विधिको शासन र डिजिटल नेपाल

कानूनको नजरमा सबै समान हुने व्यवस्था सुदृढ गर्दै राज्यका निकायमा पारदर्शी, योग्यता आधारित नियुक्ति प्रणाली लागू गरिने जनाइएको छ। ‘डिजिटल नेपाल’ अवधारणामार्फत सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ।

स्वाभिमानी र समावेशी राष्ट्र

नेपालको विविध भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्दै आधुनिक विकाससँग जोड्ने रणनीति अघि सारिएको छ। कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र पूर्वाधार विकासमार्फत समृद्धिको लाभ सबै नागरिकमा समान रूपमा वितरण गरिने प्रतिबद्धता दस्तावेजमा उल्लेख छ।

पार्टीले सक्षम, स्वतन्त्र र सम्मानित नेपाल निर्माणमा सबै वर्ग, क्षेत्र र समुदायको सहभागिता सुनिश्चित गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ।

२.भिजन_FINAL_

Read Previous

विद्युत प्राधिकरणले गर्‍यो २ वर्षसम्म सशर्त आरसीओडी थप्ने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar