Nepal Purbadhar

तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमनमा हितेन्द्रदेव शाक्य



गुल्मी । नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ को लाइन तथा सवस्टेशनको स्थलगत अनुगमन गरेका छन ।


लाइन निर्माण सम्पन्नपछि सञ्चालनमा आएसँगै उनले स्थलगत अनुगमन गरेका छन ।


उनले गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास (४६ एमभीए) मुसिकोट नगरपालिका अन्तर्गतको पौँदीअमराइ (४६ एमभीए) , बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ (४६ एमभीए) क्षमताका सवस्टेशन तथा लाइनको स्थलगत अनुगमन गरेका छ्न ।


शाक्यकै उपस्थितिमा थप प्राविधिक निरीक्षणपछि परिक्षणमा रहेको उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्रसारणलाइन चार्जमा ल्याएको प्राधिकरणले जानकारी दिएको छ ।
शाक्य नेपाल विद्युत् प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख राजन ढकाल, उच्च भोल्टेज ग्रिड विकास विभागका निर्देशक केदारराज सिलवाल र मझौला भोल्टेज ग्रिड विकास विभागका निर्देश अच्युतबाबु घिमिरेलाई साथमै लिएर ती सवस्टेशनहरु र लाइनको स्थलगत अनुगमनमा पुगेका थिए ।


अनुगमनपछि शाक्यले विद्युत आपूर्ति व्यवस्थालाई सुदृढ, भरपर्दो, गुणस्तरीय तथा विश्वसनीय बनाउने उदेश्यले प्राधिकरणले उक्त आयोजनालाई महत्वपूर्ण रुपमा लिएको जानकारी दिए ।


शाक्य गुल्मी पुग्दा गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे पनि तम्घास सवस्टेशनमा पुगेका थिए ।
‘यहाँबाट पौँदीअमराइ सवस्टेसन र बुर्तिबाङ सवस्टेशनबाट प्रशासरण सुरु भएको छ । पहिला ३३ केभीमा लाइन आउँदा दैनिक १०–१५ पटक विद्युत आपुर्तिमा समस्या हुने अवस्था थियो,’ उनले तम्घास सवस्टेशनको निरीक्षणपछि भने ‘अहिले १३२ केभी प्रसारणलाइनमा चार्ज भैसकेपछि विद्युत नियमित भएको र भोल्टेज पनि राम्रो भएको जानकारी पाएको छु । यो भरपर्दो विद्युत आपुर्तिका लागि सकारात्मक कुरा हो ।’


उहाँले यी सवस्टेशनमा चार्ज भएसँगै उद्योग–व्यवसायीहरुलाई समेत प्राधिकरणले भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउन सक्नेमा प्राधिकरण आशावादी रहेको बताए । ‘अब यी क्षेत्रमा कृषि उद्योग, साना उद्योग र ठूलाठूला उद्योग–व्यवसायका लागि आवश्यक विद्युत दिन प्राधिकरण सक्षम हुनेछ र ती व्यवसाय पनि थप फस्टाउनेमा हामी आशावादी छौँ,’ उनले भने, ‘प्राधिकरणले यो क्षेत्रमा गरेको लगानीले यहाँको अर्थतन्त्रलाई थप माथि उठाउन र रोजगारी सिर्जना गर्न सहयोग पुग्छ भन्नेमा हामी आशावादी छौँ ।’
उहाँले गाउँ वा पहाडबाट तराई झरेर विदेश जाने क्रमलाई पनि रोक्न थोरै भए पनि सहयोग पुग्नेमा समेत प्राधिकरण आशावादी रहेको उल्लेख गरे ।
उनले निरीक्षणकै क्रममा बुर्तिबाङ पुगेपछि पाँच वटा सवस्टेशन हुँदै यहाँसम्म आइपुगेको भन्दै यी क्षेत्रका वरिपरिका गाउँलाई भरपर्दो विद्युत दिने र निजी प्रवद्र्धकहरुको विजुलीलाई ग्रीडमा जोड्न सजिलो हुने उल्लेख गरे । ‘३३÷११ केभीबाट विजुली गैरहेको अवस्थामा अब १३२ केभी डबल सर्किट प्रसारणलाइनबाट जान पाउँदा निजी प्रवद्र्धक र गाउँका जनताका लागि पनि महत्वपूर्ण हुनेछ,’ उनले भने , ‘यो वरिपरी पम्पस्टोरेज आयोजनाहरु बन्ने संभावना देखिएको छ । १३२ केभीले त्यसका लागि समेत ढोका खोलेको छ ।’


उनले बुर्तिबाङ क्षेत्र आफ्नै प्रयासबाट लघु जलविद्युत बनाउने उद्यमीको रुपमा परिचित रहेको भन्दै हाल विस्थापित अवस्थामा पुग्ने अवस्था रहेको भन्दै प्राधिकरणको सञ्जाल विस्तारसँगै उहाँहरुसँग वृहद् छलफल गरेर प्राधिकरणकै सञ्जालमा जोड्दै सञ्चालनमा ल्याउने अवसर भएकाले सहजीकरण गरिदिने आश्वासन दिए ।
उनले प्राधिकरणले नै उहाँहरुको विद्युत वेचिदिएर आर्थिक रुपमा समेत सवल बनाउने पनि आश्वासन दिए ।
उनले दुई दिनसम्म गरिएको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको भन्दै अब नियमित विद्युत् प्रवाह हुने जानकारी दिए ।
आयोजना प्रमुख मनोजप्रसाद चौधरीले यो आयोजना कपिलबस्तुको मोतिपुरदेखि बागलुङ जिल्लाको बुर्तिबाङसम्म पाँच ओटा सवस्टेशन रहेको भन्दै यो आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप भरपर्दो, नियमित र गुणस्तरीय बन्नेमा आशावादी रहेको बताए ।
‘यो आयोजना अन्तर्गत कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै गुल्मीको उनाएचौर र पौँदीअमराइमार्फत बागलुङको बुर्तिबाङसम्म पाँच स्थानमा सबस्टेसन निर्माण गरिएको छ,’ उनले भने, ‘विगत करिब दुई वर्षदेखि १३२ केभी लाइनमार्फत अर्घाखाँची र गुल्मीको उनाएचौर सबस्टेसनबाट विद्युत वितरण हुँदै आएको थियो । अब बुर्तिबाङ खण्ड सञ्चालनमा आएसँगै सम्पूर्ण संरचना पूर्ण रूपमा कार्यान्वयनमा आएका छन् ।’


पहाडी जिल्लामा लामो दुरीबाट विद्युत आपूर्ति गर्दा भोल्टेज घट्ने, ओभरलोड हुने तथा बारम्बार विद्युत् अवरुद्ध हुने समस्या पनि अब घट्नेमा आशावादी रहेको प्राधिकरणले जानकारी दिएको छ । करीब चार अर्ब ७६ करोड लगानीको यो सवस्टेशन र प्रसारणलाइन निर्माणसँगै कपिलबस्तु, गुल्मी, अर्घाखाँची र बागलुङलगायतका जिल्लाका बासिन्दालाई सहज विद्युत सेवा उपलब्धतामा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले लिएको छ ।


Read Previous

सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar