Nepal Purbadhar

कुलमान घिसिङको ऊर्जा र विकास एजेन्डा सार्वजनिक, २५ हजार मेगावाट विद्युत् उत्पादनदेखि निर्यात विस्तारसम्म लक्ष्य


काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ऊर्जा र विकास केन्द्रित प्रतिबद्धता सार्वजनिक गरेको छ । विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा पूर्वऊर्जा मन्त्रीसमेत रहेका घिसिङ लोडसेडिङ अन्त्यपछि लोकप्रिय बनेका व्यक्तित्वका रूपमा काठमाडौं–३ बाट चुनावी मैदानमा छन् ।

ऊर्जा क्षेत्रमा काम गर्दा लोडसेडिङ अन्त्य गरेर प्रशंसा पाएका घिसिङले आफ्नो प्रतिबद्धतामा ऊर्जा उत्पादन, निर्यात र आर्थिक रूपान्तरणलाई प्रमुख आधार बनाएका छन् । प्रतिबद्धताअनुसार सन् २०३० सम्म १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट जलविद्युत् उत्पादन पुर्‍याउने लक्ष्य राखिएको छ । उत्पादन वृद्धि गर्दै भारत, बंगलादेश र चीनतर्फ विद्युत् निर्यात विस्तार गरी वार्षिक आम्दानी बढाउने योजना प्रस्तुत गरिएको छ ।

ऊर्जा क्षेत्रलाई राष्ट्रिय समृद्धिको आधार बनाउने भन्दै जलविद्युत्, जडीबुटी, सिमेन्ट, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकताप्राप्त क्षेत्रका रूपमा विकास गर्ने उल्लेख गरिएको छ । जलविद्युत् आयोजनामा जनसहभागिता बढाउन “एक हजार कित्ता शेयर अभियान” सञ्चालन गर्ने तथा विद्युत् निर्यातबाट प्राप्त आम्दानीको निश्चित हिस्सा राष्ट्रिय समृद्धि कोषमार्फत पूर्वाधार र गरिबी न्यूनीकरणमा प्रयोग गर्ने प्रस्ताव गरिएको छ ।

घिसिङले ऊर्जा उत्पादनसँगै आन्तरिक खपत बढाउने, विद्युतीय ऊर्जामार्फत इन्धन आयात घटाउने र उद्योग तथा कृषि क्षेत्रमा विद्युत् प्रयोग विस्तार गर्ने एजेन्डा अघि सारेका छन् । ऊर्जा निर्यातलाई दीर्घकालीन आर्थिक वृद्धि र रोजगारी सिर्जनाको आधारका रूपमा लिइएको प्रतिबद्धतामा उल्लेख छ ।

विकासतर्फ पूर्वाधार विस्तार, स्मार्ट सिटी विकास, सडक र हवाई पूर्वाधार आधुनिकीकरण तथा डिजिटल शासन प्रणालीलाई प्राथमिकता दिइएको छ । आर्थिक क्षेत्रतर्फ सन् २०३५ सम्म कुल गार्हस्थ उत्पादन १११ अर्ब अमेरिकी डलर पुर्‍याउने, निर्यात दोब्बर बनाउने र वार्षिक करिब १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य तय गरिएको छ ।

ऊर्जा क्षेत्रको अनुभवलाई राजनीतिक एजेन्डासँग जोड्दै घिसिङले परिणाममुखी विकास, सुशासन र ऊर्जा आत्मनिर्भरता आफ्नो मुख्य चुनावी आधार बनाएका छन् । उनले लोडसेडिङ अन्त्य गर्दा अपनाइएको व्यवस्थापन र नीतिगत सुधारलाई राष्ट्रिय विकास मोडेलका रूपमा अघि बढाउने दाबी गरेका छन् ।

Master-Press-Note-15-February-2026

Read Previous

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको प्रतिबद्धता सार्वजनिक, २०३५ सम्म २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

Read Next

८२ अर्ब ६० करोड भारु खर्चेर पशुपतिनाथ–वैद्यनाथधाम सडक योजना अघि बढ्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar