Nepal Purbadhar

कोसी प्रदेशको निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको चासो, सुरक्षा निकायलाई समन्वयमा काम गर्न निर्देशन


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशमा हुन लागेको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे सम्बन्धित निकायका अधिकारीहरूसँग जानकारी लिएकी छिन्।

सोलुखुम्बु र भोजपुरको भ्रमण सम्पन्न गरी सुनसरीको इटहरी पुग्नुभएपछि प्रधानमन्त्री कार्कीले निर्वाचनसँग सम्बद्ध अधिकारी तथा सुरक्षा प्रमुखहरूसँग छलफल गरेकी हुन् ।

छलफलमा कोसी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरे, विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित सुरक्षा योजनाबारे प्रस्तुतीकरण दिएका थिए ।

प्रधानमन्त्री कार्कीले निर्वाचन तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सबै निकायबीच समन्वय र एकीकृत प्रयासलाई निरन्तरता दिन निर्देशन दिइन् ।

छोटो समयमै प्रभावकारी तयारी भएको उल्लेख गर्दै उहाँले अब मतदाताले मतदान गर्न मात्र बाँकी रहेको बताइन् ।

साथै निर्वाचनको वातावरण बिगार्ने प्रयास भए तत्काल त्यस्ता तत्त्वलाई पहिचान गरी निरुत्साहित गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट हुने गतिविधिप्रति सतर्क रहन आग्रह गर्नुभयो। देशले निकास पाउनका लागि निर्वाचन महत्वपूर्ण रहेको उनको भनाइ थियो।

यसअघि प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिएकी थिइन् ।उनी आज सुनसरीको इटहरीमै बसेकी छन् ।

कोसी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदैछ भने निर्वाचन सुरक्षाका लागि ५१ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ।


Read Previous

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

Read Next

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar