
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।
बोर्डले कम्पनीलाई कुल २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्नेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडलाई दिइएको छ। धितोपत्र बोर्डले उक्त निष्कासनका लागि २०८२ माघ २९ गते स्वीकृति प्रदान गरेको हो।

स्वीकृतिसँगै कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी अघि बढाएको जनाएको छ। दुई वर्षभन्दा लामो समयदेखि यो कम्पनी आइपिओको पाइपलाइनको एक नम्बरमा थियो । सेबोनले विना कारण लामो समय अनुमति नदिइ रोकेको थियो ।

यो कम्पनीमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) का अध्यक्ष नै अध्यक्ष छन् । कम्पनीले सोलुखुम्बुमा १८ मेगावाटको माथिल्लो सोलु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
