
काठमाडौं । विद्युत् नियमन आयोगले जलाशययुक्त जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्को खरिद–बिक्री प्रक्रिया र दर निर्धारणसम्बन्धी “जलाशययुक्त विद्युत उत्पादन केन्द्रको विद्युत खरिद बिक्री सम्बन्धी निर्देशिका, २०८२” जारी गरेको छ। निर्देशिकाले जलाशययुक्त आयोजनाबाट उत्पादन हुने विद्युत्को खरिद–बिक्री दर समेत निर्धारण गरेको छ।
निर्देशिकाअनुसार जलाशययुक्त आयोजनाबाट उत्पादित विद्युत्को खरिद–बिक्री दर सुख्खा याम (ड्राइ सिजन) र वर्षायाम (वेट सिजन) का आधारमा फरक–फरक निर्धारण गरिएको छ। सुख्खा याममा विद्युत्को दर प्रतियुनिट करिब १२ रुपैयाँदेखि १५ रुपैयाँसम्म तथा वर्षायाममा प्रतियुनिट करिब ७ रुपैयाँदेखि ९ रुपैयाँसम्म तोकिएको व्यवस्था गरिएको छ। आयोजनाको प्राविधिक अवस्था, लागत संरचना, उपलब्धता तथा वित्तीय सूचकका आधारमा अन्तिम दर निर्धारण हुने उल्लेख गरिएको छ।
निर्देशिकामा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदन, लागत विवरण र ऊर्जा उत्पादन प्रक्षेपणसहित विद्युत् खरिदकर्तासमक्ष प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था छ। प्रस्ताव प्राप्त भएपछि विद्युत् खरिदकर्ताले प्राविधिक तथा वित्तीय विश्लेषण गरी १८० दिनभित्र दर गणना गरेर आयोगसमक्ष स्वीकृतिका लागि पेश गर्नुपर्नेछ।
निर्देशिकाले न्यूनतम १५ दिनसम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सक्ने जलभण्डारण क्षमता, कम्तीमा ५० वर्षसम्म सक्रिय भण्डारण कायम रहने अवस्था तथा वार्षिक ऊर्जा उत्पादनमध्ये कम्तीमा ३५ प्रतिशत सुख्खा याममा उत्पादन हुने आयोजनालाई जलाशययुक्त आयोजनाका रूपमा परिभाषित गरेको छ।
आयोगका अनुसार नयाँ निर्देशिकाले जलाशययुक्त आयोजनामा लगानी आकर्षित गर्नुका साथै सुख्खा याममा विद्युत् उपलब्धता बढाई विद्युत् प्रणालीलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
