
काठमाडौं । नेपालमा घरधुरी स्तरमा विद्युत् पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखिएको छ। नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे (MICS) 2024–25 अनुसार देशका करिब ९६.७ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ ।
सर्वेक्षणअनुसार अधिकांश घरधुरीले प्रकाशको मुख्य स्रोतका रूपमा राष्ट्रिय प्रसारण लाइनबाट प्राप्त विद्युत् प्रयोग गरिरहेका छन् । शहरी क्षेत्रमा राष्ट्रिय ग्रिडमा आधारित बिजुली प्रयोग लगभग सबै ठाउँमा पुगेको देखिएको छ भने ग्रामीण क्षेत्रमा पनि ग्रिड पहुँच उल्लेखनीय रूपमा बढेको रिपोर्टमा उल्लेख छ ।
यद्यपि केही दुर्गम क्षेत्रका घरधुरीमा अझै सौर्य ऊर्जा र अन्य वैकल्पिक स्रोत प्रकाशको मुख्य माध्यमका रूपमा प्रयोग भइरहेको सर्वेक्षणले देखाएको छ। विशेषगरी भौगोलिक कठिनाइ भएका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार चुनौतीपूर्ण रहेकाले वैकल्पिक ऊर्जामाथि निर्भरता कायम रहेको उल्लेख गरिएको छ।
सर्वेक्षणले विद्युत् पहुँच विस्तारसँगै सूचना तथा सञ्चार उपकरणको प्रयोग, घरधुरीको जीवनस्तर तथा बालबालिकाको अध्ययन वातावरणमा सकारात्मक प्रभाव परेको संकेत गरेको छ। बिजुली पुगेका घरधुरीमा टेलिभिजन, मोबाइल तथा अन्य विद्युतीय उपकरणको प्रयोग दर उच्च रहेको देखिएको छ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार नेपालमा उत्पादन क्षमता र विद्युतीकरण दर बढेसँगै अब मुख्य चुनौती गुणस्तरीय तथा नियमित आपूर्ति, वितरण प्रणाली सुदृढीकरण तथा दुर्गम क्षेत्रमा भरपर्दो सेवा सुनिश्चित गर्नु बनेको छ।
हाल ऊर्जा क्षेत्र विस्तारको चरण पार गर्दै सेवा गुणस्तर सुधारको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा सर्वेक्षणले ऊर्जा नीतिको ध्यान अब पहुँच विस्तारबाट सेवा विश्वसनीयतामा केन्द्रित हुनुपर्ने संकेत गरेको छ।
Nepal-Multiple-Indicator-Cluster-Survey-2024-25_ybpuo5x