Nepal Purbadhar

धितोपत्र बोर्ड र विद्युत नियमन आयोगको सयुक्त बैठक किन बस्यो?


काठमाडौं । काठमाडौं । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच नेपालको पूँजी बजार तथा विद्युत् उत्पादनसँग सम्बन्धित क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले संयुक्त बैठक सम्पन्न भएको छ । बैठक २०८२ पौष २४ गते बिहीबार नेपाल धितोपत्र बोर्डको खुमलटारस्थित कार्यालयमा सम्पन्न भएको हो ।

बैठकमा पूँजी बजारमार्फत विद्युत् उत्पादनसम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन, नियामक निकायबीच समन्वय तथा नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो । दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्र आवश्यक रहेकोमा दुवै निकायका प्रतिनिधिहरू एकमत भएका छन् ।

धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगका प्रमुख तथा प्रतिनिधिहरूले पूँजी बजारमा विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसर विस्तार गर्ने तथा विद्युत् उत्पादनसम्बद्ध क्षेत्रको समग्र विकास र स्थायित्वमा योगदान पुर्‍याउने उद्देश्यले निरन्तर सहकार्य, सूचना आदान–प्रदान र संयुक्त पहललाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकले पूँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई अझ संस्थागत र प्रभावकारी बनाउन दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने विषयमा समेत छलफल गरेको छ । कार्यदलले लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय तथा विद्यमान नियम–कानूनमा आवश्यक परिमार्जनका उपायहरू पहिचान गर्नेछ ।

उक्त बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरू विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश के.सी. सहभागी थिए । विद्युत् नियमन आयोगका तर्फबाट अध्यक्ष डा. रामप्रसाद धिताल, सदस्यहरू डा. मधुसुदन अधिकारी र भगिरथि भट्टराई ज्ञवालीसहित अन्य पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।


Read Previous

निर्वाचन प्रहरीका लागि युवाहरु लाइनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar