
काठमाडौं । रेमिट हाइड्रो लिमिटेडले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा निर्माण प्रस्ताव गरेको ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजना अन्तर्गत सिभिल तथा हाइड्रो–मेकानिकल निर्माण कार्यका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको छ ।
कम्पनीले एक सार्वजनिक सूचना निकालेर बोलपत्र आह्वान गरेको हो ।
कम्पनीले इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा लट–१ अन्तर्गतका कार्यहरू गर्न इच्छुक तथा योग्य निर्माण कम्पनीहरूबाट विद्युतीय माध्यममार्फत बोलपत्र दिन सकिनेछ ।
सूचनाअनुसार बोलपत्रदाताको पछिल्ला १० वर्षभित्रका उत्कृष्ट ३ वर्षको औसत वार्षिक निर्माण कारोबार कम्तीमा १ करोड ८२ लाख अमेरिकी डलर हुनुपर्नेछ। साथै, पछिल्ला १० वर्षभित्र कम्तीमा एकवटा इपीसी, डिजाइन एण्ड बिल्ड वा टर्नकी प्रकृतिको आयोजना सफलतापूर्वक सम्पन्न वा लगभग सम्पन्न गरेको अनुभव आवश्यक पर्नेछ, जसको मूल्य कम्तीमा २ करोड ८० लाख अमेरिकी डलर बराबरको हुनुपर्ने उल्लेख छ ।
विदेशी कम्पनीहरूका लागि नेपाली कम्पनीसँग अनिवार्य संयुक्त उद्यम (जेभी) मा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। बोलपत्र एक चरण दुई खाम (प्राविधिक र मूल्य) प्रणालीमार्फत पेश गर्नुपर्नेछ।
बोलपत्रसम्बन्धी पूर्व–बोलपत्र बैठक जनवरी २९ तारिख बिहान ११ बजे रेमिट हाइड्रो लिमिटेडको नयाँ बानेश्वरस्थित कार्यालयमा आयोजना गरिनेछ। बोलपत्र पेश गर्ने अन्तिम मिति २०२६ फेब्रुअरी २३ तारिख दिउँसो १२ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिनेछ।
बोलपत्रको वैधता अवधि १२० दिनको हुनेछ भने बोलपत्र सुरक्षण रकम २० करोड रुपैयाँ वा १४ लाख अमेरिकी डलर बराबरको हुनुपर्नेछ।
आयोजनाको फाइनान्सियल क्लोजर भइसकेको छ ।
आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले पाँच अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले तीन अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, माछापुच्छ्रे बैंकले एक अर्ब ४५ करोड, एभरेष्ट बैंकले एक अर्ब २५ करोड लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड बराबर लगानी गर्नेगरी सम्झौता भएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी सो आयोजना निर्माण गरिनेछ ।आयोजनाको अनुमानित लागत निर्माण अवधिभरको ब्याज सहित १८ अर्ब १३ करोड रुपैयाँ छ । आयोजनाको लागि आवश्यक पर्ने वित्तीय व्यबस्थापन स्वपूँजी र ऋण लगानीबाट गरिने छ ।
स्वपूँजी लगानी संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १५ प्रतिशत र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत छ । कम्पनीमा जम्मा पूँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ ।
साधारण शेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत बैदेशिक रोजगारमा गएका नेपाली नागरिकको लागि सुनिश्चित गरिएको छ । यस्तै, १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासी र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । आयोजना निर्माण सुरु भएको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनाको विद्युतगृह तथा आवास गृहसम्मको बाटो तथा तमोर नदीका दुई स्थानमा बेली ब्रिज राख्ने काम सम्पन्न भएको छ ।









