
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित हुने बताए । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकहरुलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदुर पश्चिम प्रदेश पुग्नु भएका उहाँले त्यहि सिलसिलामा त्यहाँका विभिन्न वितरण केन्द्र र सब–स्टेशनको समेत निरीक्षण गर्ने क्रममा यस्तो बताउनु भएको हो । कर्णालीको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा आयोजित दुबै कार्यक्रममा सहभागी हुने क्रममा पनि शाक्यले प्राधिकरणको ध्यान अब गुणस्तरीय बिजुली सेवामा केन्द्रित हुने बताए ‘पहिलाका दिनमा लोडसेडिङ थियो । त्यतिबेला जसरी पनि बिजुली पुर्याउनुपर्छ भन्ने थियो अब बिजुली पुर्याएर मात्रै हुँदैन,’ उहाँले धनगढीको कार्यक्रममा भने, ‘बिजुलीको गुणस्तर राम्रो हुनुपर्छ । गुणस्तर भनेको झ्याप्पझ्याप्प बिजुली जानु भएन । बिजुली भरपर्दो हुनुपर्यो ।’
उहाँले उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कार्यक्रममा सबै भन्दा बढी विद्युत खपत गरेर प्राधिकरणको आन्दामीमा मात्रै टेवा पुर्याउने होइन विद्युतको उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिनुपर्छ भने । ‘अझ उद्योगीहरुले विद्युत कच्चापदार्थका रुपमा प्रयोग गर्नुहुन्छ । त्यो बिजुली प्रयोग गरेर त्यो भन्दा चार–पाँच गुणा बढी योगदान थप्नु हुन्छ,’ उनले भने, ‘विद्युत उपभोक्ता हाम्रो आन्दानीका लागि मात्रै होइनन् । देशकै अर्थतन्त्रको योगदानका लागि महत्वपूर्ण भएको हुनाले उहाँहरुको सम्मान गर्दै गर्दा हाम्रो दायित्व मात्रै पूरा गरेका होइनौँ । अर्थतन्त्रमा योगदान दिनुभएको र रोजगारीको पनि अवसर दिनुभएकाले धन्यवादको रुपमा यो अभियान चलाएका हौँ ।’
उहाँले गुणस्तीय बिजुली सबै उपभोक्ताको आवश्यकता भएको भन्दै अझ उद्योगीहरुका लागि झन आवश्यक हुने उल्लेख गर्नुभयो । ‘एक पटक केही समय बन्द हुँदा कि जेनेटर चलाउनु पर्ने हुन्छ वा उहाँहरुको उत्पादन खेर जाने अवस्था हुन्छ,’ उनले भने , ‘त्यसैले उद्योगीहरुका लागि विद्युतको निरन्तरता अत्यावश्यक छ । त्यसका लागि विद्युतको भोल्टेज गुणस्तरीय हुनुपर्छ ।’
उहाँले सबै वितरण केन्द्रका प्रमुखसँग बसेर कुराकानी गरेको भन्दै सुदुरपश्चिमको क्षेत्रको विद्युतलाई विश्वसनीय र राम्रो अथवा गुणस्तरीय बनाउन अत्तरिया–धनगढी प्रसारण लाइन निर्माणको लाइसेन्स लिएर अघि बढेको पनि जानकारी दिनुभयो । ‘यो क्षेत्रका लागि यो राम्रो छ । त्योसँगै सुदुरपश्चिम क्षेत्रमा अन्य धेरै आयोजना पनि आइरहेको हुँनाले यो ठाउँको विद्युतको गुणस्त राम्रो हुने अपेक्षा गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामी छिट्टै जति ठूलो उद्योग आउँदा र उहाँहरुले माग्दा पनि दिन सक्ने अवस्थामा पुग्नेछौँ ।’ उनले उपभोक्तालाई विद्युत खपत बढाउन आग्रह गर्दै त्यसैले प्राधिकरणको आन्दामी बढ्ने र अर्थतन्त्रमा पनि योगदान हुने उल्लेख गरे ।
उनले कर्णाली र सुदुरपश्चिमको निरीक्षण भ्रमणका क्रममा कोलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनासँगै कर्णाली प्रदेशको वितरण तथा ग्राहक सेवा निर्देशनालयको पनि निरीक्षण भ्रमण गर्नुभयो । उनले त्यहाँ हिमाली र पहाडी जिल्लामा देखिएका समस्या र समाधानको उपाय उपायसहित तालिका बनाएर अघि बढ्नका लागि निर्देशन दिए ।
काठमाडौंबाट प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठलाई साथमै लिएर कर्णाली पुग्नु भएका शाक्यले त्यहाँ प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशिभूषण साहसहित निरीक्षण गरेका थिए ।
कर्णालीपछि साहलाई पनि साथमै लिएर सुदुरपश्चिम पुग्नु भएका शाक्लेले कैलालीको लम्कीचुहामा रहेको प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय कंक्रिट पोल प्लान्ट, अत्तरीयाको सब–स्टेशन, सुदुरपश्चिम प्रादेशिक कार्यालय, धनगढी वितरण केन्द्रलगायतको भ्रमणमा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवलाई पनि साथमै लिएर निरीक्षण भ्रमणगरे
।
शाक्यले आफ्ना उत्कृष्ट ग्रहकलाई सम्मान गर्ने, विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरुको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियान कोसी प्रदेशबाट सुरुवात गरेको भन्दै मधेस प्रदेश, गण्डकी, कर्णाली प्रदेश हुँदै सुदुरपश्चिममा पनि सम्पन्न गरेको र अब छिट्टै लुम्बिनी र बागमतीमा पनि गर्ने जानकारी दिए ।
