
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आईटी क्षेत्र र निर्यातमुखी व्यवसायका लागि वैदेशिक लगानीसम्बन्धी नीतिमा महत्वपूर्ण सुधार गरिएको बताएका छन्। हालका वर्षहरूमा नेपालका आईटी कम्पनीहरूले उल्लेखनीय मेहनत गरेको उल्लेख गर्दै उनले नीतिगत सहजताका कारण वैदेशिक लगानी आकर्षण बढ्दै गएको बताए।
गभर्नर पौडेलका अनुसार अर्थ मन्त्रालयले कम्पनी दर्ता सहज बनाउने, प्रत्यक्ष वैदेशिक लगानी (FDI) को सीमा संशोधन गर्ने तथा कर प्रणालीलाई विश्वसनीय बनाउने जस्ता सुधारको आंशिक परिणामस्वरूप आईटी क्षेत्रमा उल्लेखनीय विस्तार देखिएको छ। दुई वर्षअघि वैदेशिक लगानीमा करिब ४० वटा आईटी कम्पनी खुलेकोमा एक वर्षअघि यो संख्या बढेर झण्डै ४०० पुगेको उनले जानकारी दिए।
राष्ट्र बैंकको नेतृत्व सम्हालेपछि ती सुधारलाई अझ अगाडि बढाइएको उल्लेख गर्दै गभर्नर पौडेलले नेपाली निर्यातकर्ता कम्पनीलाई विदेशमा एक मिलियन अमेरिकी डलरसम्म लगानी गर्न अनुमति दिइएको बताए। साथै हाल निर्यात नगरेका कम्पनीलाई पनि २० हजार डलरसम्म वैदेशिक लगानी गर्न पाउने व्यवस्था गरिएको छ। “नतिजा हेरेर यी सीमाहरू क्रमशः संशोधन गर्दै जानेछौं,” उनले विश्वास दिलाए।
वैदेशिक लगानीकर्ताले कागजी प्रक्रिया धेरै भएको गुनासो गर्दै आएको सन्दर्भमा नाफा लैजान राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको गभर्नर पौडेलले बताए। उनका अनुसार यी कदमले लगानी वातावरण थप सहज बनाउनेछ।
सन् २०२१ सम्म नेपालमा वैदेशिक लगानीमा कडाइ गरिएको अवस्थाबाट अहिले यस्ता पहलहरू हुनु दूरगामी असर पार्ने खालका रहेको उनको भनाइ छ। गभर्नर पौडेलले युवालाई लक्षित गर्दै ढुक्क भएर नयाँ प्रोडक्ट विकास गर्न, विश्व बजारतर्फ नजर लगाउन र नेपालबाटै प्रतिस्पर्धा गर्न आह्वान गरे।
“पखेटा फैलाउनुहोस्, मेहनत गर्नुहोस्। नेपालबाटै संसार जित्न सकिन्छ,” गभर्नर पौडेलले भने, “बैंकिङ क्षेत्र तपाईंहरूको विस्तारमा सदैव साथ दिनेछ।”









