Nepal Purbadhar

४३९ मेगावाटको बेतन कर्णालीमा लगानी स्वीकृत, लगानी बोर्डले के के निर्णय गर्यो ?



काठमाडौं । लगानी बोर्डको ६७औँ बैठकले बेतन कर्णाली जलविद्युत परियोजना (४३९ मेगावाट) मा लगानी स्वीकृति प्रदान गरेको छ। बुधबार बसेको बैठकले विभिन्न ऊर्जा तथा पूर्वाधार परियोजनासम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो।

बैठकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा गरिएको कामको समीक्षा गर्दै चालु वर्ष २०८२/८३ का लागि कार्यालयको वार्षिक कार्ययोजना पारित गरेको छ। यससँगै तल्लो अरुण (६६९ मेगावाट) जलविद्युत परियोजनाको उत्पादन अनुमतिपत्र जारी गर्न आवश्यक मस्यौदा स्वीकृत गरी कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अधिकार दिएको छ।

यस्तै, अरुण–३ (९०० मेगावाट) जलविद्युत परियोजनाको मस्यौदा मन्त्रिपरिषद्मा पठाउन सिफारिस गर्ने निर्णय पनि गरिएको बैठकले जनाएको छ। पछिल्लो चरणमा पुगेको पश्चिम सेती जलाशययुक्त आयोजना (८०० मेगावाट) का लागि सर्वेक्षण अनुमति पत्रको म्याद पनि थपिएको छ।


पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन लक्ष्य राखिएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क (लगभग १६ अर्ब रुपैयाँ लागत) सम्बन्धी प्रस्तावलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि सर्वेक्षण अनुमति दिने सहमति पनि बैठकले प्रदान गरेको छ।


बैठकमा कार्यालयका लागि २०८२/८३ मा आवश्यक विभिन्न पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्नुका साथै सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली–२०७७ संशोधन मस्यौदा मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय पनि गरिएको छ।


प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, उद्योग तथा वाणिज्य मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल लगायतका अधिकारीहरू सहभागी थिए।


Read Previous

एमसीसीले नेपाललाई थप ५ करोड डलर अनुदान दिने, कुल सहायता करिब ७८ अर्ब रुपैयाँ पुग्यो

Read Next

ट्रली बस ब्युत्याउने योजनामा कुलमान, एडीबीसंग मागे अध्ययनका लागि सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar