
काठमाडौं । नेपालमा चलेका एमसीसी कम्प्याक्ट परियोजनालाई सहयोग गर्न मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले थप ५ करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ। यससँगै परियोजनाअन्तर्गत प्राप्त हुने कुल सहायता करिब ७४ करोड ७० लाख डलरमा पुगेको छ, जसको मूल्य नेपाली रुपैयाँमा करिब १ खर्ब ६ अर्ब पर्छ।
सम्झौताअनुसार अमेरिकाले उपलब्ध गराउने कुल अनुदानलगत्तै ५५ करोड अमेरिकी डलरमा नजिकिएको छ, जुन हालको विनिमयदरअनुसार ७८ अर्ब रुपैयाँ भन्दा बढी हुन्छ। नेपाल सरकारले भने करिब १९ करोड ७० लाख डलर बराबरको लगानी गर्दै आएको छ। थपिएको रकमले प्रसारण लाइन विस्तार तथा ऊर्जा पूर्वाधार निर्माणमा भइरहेको कार्यलाई गति दिने अपेक्षा गरिएको छ।
अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा यो सहयोगले नेपाल–अमेरिका साझेदारीलाई अझ मजबुत बनाउने उल्लेख छ। दूतावासका अनुसार दुवै देशले लामो समयदेखि आर्थिक विकास, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिका लागि सहकार्य गर्दै आएका छन्, र एमसीसी कम्प्याक्ट त्यसैको निरन्तरता हो।
यस अतिरिक्त अनुदानबाट नेपालका ऊर्जा प्रसारण प्रणाली सुदृढ हुने, उत्पादनदेखि व्यापारसम्मको श्रृंखलामा विश्वसनीयता बढ्ने र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा मद्दत पुग्ने बताइएको छ। साथै, यसले नेपाललाई अन्तर्राष्ट्रिय ग्रिड कनेक्टिभिटीमा थप सक्षम बनाउने तथा ऊर्जा पूर्वाधारमा अमेरिकी प्रविधि र विशेषज्ञताको उपयोग बढाउने अपेक्षा गरिएको छ।
दूतावासले अमेरिकी निजी क्षेत्र, प्रविधि प्रदायक तथा ऊर्जा कम्पनीका लागि पनि नेपाली बजारमा प्रवेशको अवसर बढ्ने उल्लेख गरेको छ। एमसीसी कम्प्याक्ट ऋणरहित अनुदानमा आधारित पूर्वाधार निर्माण कार्यक्रम भएकाले दीर्घकालीन आर्थिक वृद्धि र ऊर्जा सुरक्षामा महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
यद्यपि, एमसीसीको कार्यान्वयन सुरु भएको करिब दुई वर्ष पुगे पनि परियोजनाहरूले अपेक्षित गति लिन नसकेको चिन्ता व्यक्त हुँदै आएको छ। दुवै पक्षबाट निर्धारित बजेट न्यून मात्रामा खर्च भएको देखिनुले परियोजना समयमै सकिन नसक्ने आशंका बढाएको छ।









