
काठमाडौं । बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ । काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत आज सिमरा जान लागेका थिए। आज बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो।

दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेको क्यान्टिन आसपास भेला भएका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ।
प्रदर्शनमा उत्रिएका जेनजी समूहले सडकमा टायर बालेका छन् । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

जेनजी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ ।तस्बिरहरु: श्याम ठकुरी/नेपाल फोटो लाइब्रेरी














