
काठमाडौं । विद्युत नियमन आयोगले पञ्चकन्याका दुई उद्योग र नेपाल विद्युत प्राधिकरणलाई आइतबार छलफलमा बोलाएको छ।
सोमबार पत्र लेख्दै आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको हो । प्राधिकरणलाइ पञ्चकन्याले भने जस्तै किन हुनु नपर्ने हो भन्दै १५ दिनभित्र लिखित जवाफ मागेको छ । नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले आइतबारदेखि दुवै पक्षलाई राखेर सुनुवाई सुरु हुने बताए ।
डेडिकेटेड फिडर तथा ट्र्कलाइन विवाद समाधान गरिदिन भन्दै दुई उद्योगले विद्युत नियमन आयोगमा उजुरी दिएका थिए ।
पञ्चकन्या स्टील र पन्चकन्या प्लास्टिक्सले बक्यौता रकमको ५ प्रतिशत सेवा शुल्क बुझाएर उजुरी दिएका हुन् । बक्यौता विवादमा नेपाल विद्युत प्राधिकरणले गैर कानुनी रुपमा महसुल असुल गर्न खोजेको र लाइन काटेको उजुरीमा उल्लेख छ । आयोगका अनुसार दुई उद्योग बाहेक उद्योगीहरु छलफलमा आएपनि उजुरी भने दिएका छैनन् ।
प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको थियो ।
केहि कम्पनीले पहिलो किस्ता तिर्न थालेका छन् । किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिन थालेको छ । पञ्चकन्याका दुई उद्योगले पनि बक्यौता तिर्न थालेपछि लाइन जोडिएको छ ।









