
पाल्पा । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रंग उडेर भित्तामा लेउ लाग्न थालेको छ ।
रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा यहाँको सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ ।

तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको छ । तानसेन नगरपालिकाले गत साउनदेखि कार्तिक १२ गतेसम्म १३ लाख ७० हजार ३ सय राजस्व संकलन गरेको छ ।

घुम्न जाने पर्यटक रानीमहल भित्रै बसेको, प्रहरीले कपडा सुकाएर अशोभनीय कार्य गरेको, फोहोर सफा नगरेको गुनासो स्थानीयले गरेका छन् ।
२०७५ साउनमा पुरातत्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकालाई रानीमहल हस्तान्तरण गरेको छ । दैनिक कम्तीमा ३ सय पर्यटकले रानीमहलको अवलोकन गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ ।
वर्षायामपछि रानीमहलमा कालो धब्बा देखिँदै आएको तर विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रंगरोगन गर्न ढिलाई भएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । वि.सं. १९५० मा निर्माण सुरु भएर १९५४ मा निर्मांण कार्य सम्पन्न भएको ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीमहललाई प्रेमका प्रतिकका रुपमा चिनिन्छ । तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमा युनानी शैलीमा रानीमहल दलबार निर्माण गरेका हुन् ।
शब्द/तस्बिर: मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी








