Nepal Purbadhar

११ हजार ६३७ जना विद्यार्थीको आँखा जाँच्दा १,२६० जनामा दृष्टि सम्बन्धी समस्या


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा १ हजार २६० जनामा दृष्टि सम्बन्धी समस्या भेटिएको छ । स्वास्थ्य विभागले नेपाल नेत्र ज्योती संघ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्ने गरी विद्यालय छनोट गरेर गएको साउन ५ गतेदेखि असार ६ गतेसम्म जाँच गरेको थियो । यस जाँचमा कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रालाई सहभागी गराइएको थियो । जसमा ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा थिए ।

जाँच गरिएकामध्ये करिब १० दशमलव ८३ प्रतिशत अर्थात् १ हजार २६० जना छात्रछात्रामा नजिकको देख्न नसक्ने या टाढाको देख्न नसक्ने खालका समस्या पाइयो । करिब २ दशमलव ६१ प्रतिशत अर्थात् ३०४ जनामा आँखामा हुने विभिन्न खालका रोग भेटिए । जाँचपछि आधारभूत र आवश्यकता परेका ११ प्रकारका औषधिहरु वितरण गरिएको थियो ।

विद्यार्थीहरुमा भएको सामान्य आँखाको रोग, दृष्टि दोषहरुमा टाढाको दृष्टि दोष तथा नजिकको दृष्टिमा हुने त्रुटिको अवस्था पत्ता लगाउन जाँच कार्यक्रम गरिएको हो । आँखाको नियमित उपचार गर्नु पर्ने विद्यार्थी पहिचान गर्ने, पहिचान भएका सामान्य समस्याको तत्काल उपचार गर्ने, विद्यार्थीहरुमा आँखाको स्वास्थ्य र स्वच्छताका लागि हेरचाह, स्याहारको बानी विकास गराउने, विद्यार्थी, शिक्षक र अभिभावकमा आँखाको स्वास्थ्यका विषयमा सचेतना वृद्धि गराउने कार्यक्रमको उद्देश्य थियो ।

यस जाँचबाट विद्यालय उमेरका बालबालिकाहरुको दृष्टि बचाउन विद्यालय स्तरीय आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, यसका लागि बहुक्षेत्रीय साझेदारिता बढाउनु पर्ने, तथ्याङ् व्यवस्थापन र विश्लेषणका आधारमा कार्यक्रम तर्जुमा गर्दै लैजानु पर्ने, विद्यालयका शिक्षक र कर्मचारीहरुमा दृष्टि दोष पत्ता लगाउने र समाधानका उपायमा काम गर्ने क्षमता बढाउनु पर्ने, एकीकृत र डिजिटल सेवा विकास गर्नु पर्ने र यी सबै काम गर्न नीति तर्जुमा गर्नु पर्ने सुझाव प्राप्त भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) को तथ्यांक अनुसार, विश्वमा कम्तीमा २ करोडभन्दा धेरै मानिसमा दृष्टि कमजोरी वा दृष्टिविहीनता छ । जसमध्ये १ करोड जनाभन्दा धेरै समस्या रोकथाम गर्न सकिने, उपचार गर्न सकिने खालका छन् ।

अंग्रेजी वर्षको हरेक अक्टोवर महिनाको दोस्रो विहीबार विश्व दृष्टि दिवसका रुपमा मनाइन्छ । यस वर्ष दृष्टि, प्रविधि र भविष्य नारासहित दिवसका कार्यक्रम मनाइँदैछन् ।


Read Previous

फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता गर्न मानिसहरुको निर्वाचन कार्यालयमा भिड

Read Next

जेनजी आन्दोलनको विध्वंश: एक महिनामा यस्ता देखिए जलाइएका भवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar