Nepal Purbadhar

एक्सनमा उत्रिए विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सिलवाल, यी हुन सात दिनमा गरेका सात काम


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल एक्सनमा उत्रिएका छन् ।

उनी कार्यकारी निर्देशक बन्ने बित्तिकै धमाधम प्राधिकरणमा विना कारण अड्किएका कामहरु अघि बढाएका छन् । अघिल्लो आइतबार बसेको मन्त्रिपरिषद्ले उनलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको भएपनि त्यसको दुईदिनपछि अर्थात ७ गते मंगलबार उनले कार्यभार सम्हालेका थिए । कार्यभार सम्हाल्ने बित्तिकै उनी एक्सनमा उत्रिएर काम थालेका हुन् । यस अघि निर्णय नभएर हैरानी खेप्नुपर्ने समस्या थियो । उनी आउने बित्तिकै धमाधम निर्णय हुन थालेको छ ।

यी हुन सात दिनमा उनले गरेका ७ मुख्य काम

१)डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता असुली प्रक्रिया सुरु

उनले सञ्चालक समितिको बैठक राखेर लामो समयदेखि नउठेको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउने प्रक्रिया थालेका छन् । आइतबार उक्त सूचना प्राधिकरणले जारी गरिसकेको छ । कार्तिक २ गतेभित्र तिर्न आउन आग्रह गरेको छ । नआए बक्यौता नतिर्ने उद्योगहरुमा लाइन काट्ने चेतावनी दिएको छ ।

लामो समयदेखि विवाद गरेर नउठाएको झण्डै ८ अर्ब रुपैयाँ बक्यौता उठ्ने छ । जसले प्राधिकरणको वित्तिय स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्नेछ । भने सहि नेतृत्व आए बक्यौता उठाउन सक्छ भन्ने मान्यता स्थापित गर्नेछ । अर्थात लामो समयदेखि गिजोलिएको यो विवाद टुंगिने छ । उद्योगीलाई अहिलेको परिस्थितिमा समस्या नहोस् भने २८ महिनाको किस्ताबन्दीको सुविधा समेत दिइएको छ ।

२)३५५ मेगावाटका २४ सोलारका आयोजनाको पीपीए

विना कारण बार्गेनिङ गरेर रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) धमाधम हुन थालेको छ ।

महिनौदेखि विना कारण रोकिएको सोलारका परियोजनाको पीपीए प्राधिकरणले गर्न थालेको हो । उनले ३५५ मेगावाट क्षमताका २४ सोलारका परियोजनाको पीपीए गरिदिएका हुन् ।

अन्तिम सहमतिका लागि विद्युत नियमन आयोग पठाउने काम समेत भइसकेको छ ।

प्राधिकरणले गत कार्तिकमा नै ९६० मेगावाटका लागि आशयपत्र जारी गरेको थियो । तर पीपीएका लागि कम्पनीहरु धाइरहेका थिए । केहि ठूला तत्कालीन सरकारको नेतृत्वलाई खुसी बनाउने बाहेकले पीपीए गर्न सकेका थिएनन् । कार्यकारी निर्देशक बनेर आएपछि सिलवालले कुनै स्वार्थ नराखी विधि र प्रक्रिया अनुसार पीपीए गरिदिएका हुन् ।

निजी क्षेत्रले पीपीए नभएको भन्दै गुनासो गरिरहेको थियो ।

ऊर्जा सुरक्षाका लागि प्राधिकरणले सोलारमा पनि ध्यान दिएको छ । जसले प्राधिकरणलाई विद्युत व्यवस्थापनमा केहि सहज बनाउँछ ।

३)त्रिशुली थ्री ए बाट थप ३० मेगावाटको उत्पादन

बाढी पहिरोका कारण त्रिशुली थ्री ए बाट ३० मेगावाट कम उत्पादन भइरहेको थियो । सिलवालले कार्यभार सम्हालेकै दिन मर्मत गरेर सबै युनिट सञ्चालन गर्न निर्देशन दिए । एक साताभित्रै थप ३० मेगावाट बिजुली प्रणालीमा थपिएको छ । लापारबाही गरेर मर्मत समेतको काम भएको थिएन ।

४) जनतासंग विद्युत प्राधिकरण कार्यक्रम घोषणा

सिलवालले ग्राहकको गुनासो सुन्न जनतासंग विद्युत कार्यक्रम घोषणा गरेका छन् ।

यो कार्यक्रम अन्तर्गत हरेक साता सिलवालले एक घण्टा ग्राहकहरुसंग आफैले कुराकानी गरेर गुनासोहरु सम्बोधन गर्नेछन् र तत्काल समाधानका लागि त्यहिबाट निर्देशन दिनेछन् । कसैले मिटर नपाएको,कर्मचारीले घुस मागेको,बत्ती जाने समस्या भइरहेकोलगायतका सबै विषयमा सिलवालसंग प्रत्यक्ष कुराकानी गर्न पाइनेछ ।

उनले त्यसका लागि हटलाइन नम्बरको व्यवस्था गरेर हरेक साता एक घण्टा ग्राहकसंग कुराकानी गर्नेछन् । त्यसका लागि प्राधिकरणले छिट्टै सूचना जारी गर्ने तयारी गरेको छ । वास्तविक रुपमा ग्राहक समस्या बुझेर काम गर्न लागिएको सिलवालले बताए । यसरी कुराकानी गर्दा ग्राहकको समस्या थाहा हुने र प्राधिकरणलाइ काम गर्न सहज हुने उनको बुझाई छ । ग्राहकरुको सेवाका लागि प्राधिकरणले काम गरिरहेको महसुस हुने गरी काम गर्ने उनको भनाई छ ।

५)चमेलियाबाट १५ मेगावाट उत्पादन

चमेलियाको सामान्य मर्मत नगर्दा १५ मेगावाट बिजुली प्रणाली बाहिर थियो । सिलवालले तत्कालै मर्मत गर्न लगाएका कारण उक्त बिजुली प्रणालीमा थपिएको छ ।

६) कामको समयसीमा तोक्ने निर्णय

सिलवालले कुन काम कतिमा दिनमा गरिसक्नुपर्ने हो त्यसको समयसीमा तोक्न लागेका छन् । समयसीमाभित्र काम नगर्ने कर्मचारीहरुलाई कारबाही समेत हुनेछ । फाइल अड्काएर राख्ने प्रवृत्ति बढेका कारण उनी एक्सनमा उत्रिन लागेका हुन् । ‘कुन काम कति समय गर्ने हो छुट्याउँछौं, त्यति समयमा सक्नैपर्छ,’ सिलवालले भने, ‘जस्तो उदारहणका लागि मिटर मागेको कति समयमा दिनुपर्ने हो त्यत्तिनै समयमा निर्णय हुनुपर्छ । ग्राहकले पाउनुपर्छ । यदि दिन नमिल्ने हो भने पनि त्यहि समयभित्र निर्णय गरिदिन पर्छ ।‘

७) बिजुली आपूर्ती सहज बनाउन वितरण र प्रसारणलाइनको सेड्युल मेन्टेनेन्स गर्ने निर्णय

अत्यन्त कमजोर वितरण प्रणाली रहेका कारण विद्युत आपूर्तिमा समय समयमा समस्या हुने गरेको छ ।

वितरण प्रणालीमा ब्यापक सुधारको काम गर्नुपर्नेछ । सिलवालले तत्कालका लागि बिजुली आपूर्ति सहज बनाउन वितरण र प्रसारण प्रणालीको सेड्युल मेन्टेनेन्स गर्ने निर्णय गरेका छन् । जसले आपूर्ति केहि सहज बनाउनेछ । अहिले पनि मर्मतको काम भइरहेको छ । तर थप तालिका नै बनाएर गर्दा कम समस्या आउने सिलवालको बुझाइ छ ।

निर्णय क्षमतामा अब्बल सिलवालले सात दिनमा एक दर्जनबढी महत्वपूर्ण काम थालेका छन् । उनले काम गर्न नसके आफ्नो फोटो प्राधिकरणका नटास्न समेत निर्देशन दिएका छन् ।

को हुन सिलवाल ?

सिलवाल नेपाल विद्युत प्राधिकरणबाट रिटार्यड उपकार्यकारी निर्देशक हुन् ।

सिलवाल २०४७ सालमा करारमा ओभरसियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । उनले प्राधिकरण मातहतको साना जलविद्युत विभागबाट जागिर सुरु गरेका थिए । उनी लामो समय त्यहि बसे । पछि स्थायीमा नाम निकाले । १० तहमा बढुवा भएपछि बुटवल-कोहलपुरको आयोजनामा सरुवा भए ।

अत्तरिया क्षेत्रिय कार्यालयमा काम गरे । उनले मध्यभोटेकोसीमा जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गरे ।

प्रबन्ध निर्देशकको सचिवालय, आयोजना व्यवस्थापन कार्यालय, इन्जिनियरिङ सेवा निर्देशनालयमा समेत काम गरेको अनुभव उनीसँग छन् ।

उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा वितरण तथा ग्राहक सेवा निर्देशनालय सम्हालेका थिए । यो निर्देशनालयलाई प्राधिकरणको ‘ब्याक बोन’ मानिन्छ । यो निर्देशनालयले राम्रो काम गर्‍यो भने मात्रै प्राधिकरणको कार्यकारी सफल हुन्छ । यसले काम गर्न सकेन भने प्राधिकरणको कार्यकारी निर्देशक असफल हुन्छ ।

उनै सिलवालले लगनका साथ काम गरेका कारण घिसिङ सफल भएका थिए । घिसिङले जनतामा वाहावही पाएका हुन् । अर्थात घिसिङलाई सफल बनाउन उनको महत्वपूर्ण भुमिका छ ।

लो प्रोफाइलमा बसेर काम गर्न रुचाउने,कम बोल्ने सिलवाल निर्णय क्षमतामा अब्बल मानिन्छन् । पछिल्लो समय डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउन सिलवाल घिसिङसंगै उभिएका थिए । कुलमानसंगै उभिएका कारण सिलवाल राजनीतिक नेतृत्वदेखि व्यापारीसम्मको निशानामा परेका थिए ।

जस्तो सुकै निशानाको पनि सामना गरेर उनी घिसिङको साथ उभिए । उपकार्यकारी निर्देशकहरु समेतसंगै उभिएका कारण घिसिङले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारसंगै बक्यौता उठाएर छाड्ने अडान लिएका थिए । घिसिङलाई सधै भरी साथ दिए थिए ।

उनको निर्णय क्षमताका कारण धेरै कर्मचारीहरुले प्रशंसा गर्ने गर्छन् । ‘राइट म्यान इन राइट प्लेस’ भएको कर्मचारीहरु बताउँछन् ।


Read Previous

अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख तथा लेखापाललाई मन्त्रालय तानियो, छानबिन समिति गठन

Read Next

राजधानीको चोक चोकमा जमराको व्यापार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar