
Satti ghaat bridge. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library
काठमाडौं । कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने गर्दछ । हुलाकी राजमार्गमा पर्ने यो पुलको लम्बाइ ५ सय ३१ मिटर रहेको छ । सत्तीघाट पुलमा १४ पिलर छन् ।

झण्डै एक दशकअघि ४६ करोड रुपैयामा पुल निर्माण भएपछि कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौ नागरिकको आवागमनमा सहजता आएको छ । तर पछिल्ला केही बर्षयता नदीले पूर्वी क्षेत्रमा तीब्र कटान गर्न थालेपछि पुल जोखिममा परेको छ ।

कटान कम गर्न ठुला ढुंगाबाट तटबन्ध गरिए पनि जोखिम हट्न सकेको छैन । स्थानीयका अनुसार पुल निर्माण भएको एक बर्षपछि नै तारजाली भासिन सुरु भएको थियो । पुल निर्माणका क्रममा बनाएको डाइभर्सनसँगै नदीले धार परिवर्तन गर्न थालेको जानकारहरु बताउँछन् ।

स्थानीले पुलको संरक्षणका लागि उत्तरतर्फ नदीको बीचमा रहेका बालुवाका साना टापु सफा गर्नु पर्ने बताउँदै आएका छन् । “ नदीमा पानीको बहाव बढ्नासाथ पुल बगाउने हो कि भनेर मन भारी भएर आउँछ“ राजापुरका स्थानीय व्यापारी कमल पाण्डे बताउँछन ।
