
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडबाडको समयमा यातायातलाई व्यवस्थित गरि सञ्चालनमा ल्याउनका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
शनिबार मन्त्रालयमा बसेको आपतकालिन बैठकमा उनले २४ सैं घन्टा सुरक्षित रूपमा यातायात सञ्चालन हुन सक्ने गरी सडक व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । शनिबार नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएपश्चात मन्त्रालयमा आपतकालिन बैठक बसेको थियो ।
मन्त्री घिसिङसहित मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका पदाधिकारीहरूसहित बैठक बसिएको थियो ।
घिसिङले काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरूमध्ये सार्वजनिक सवारी साधनहरू नागढुंगा सुरूङमार्गबाट बाहिर जाने र दशैंपछि ती सवारी साधन प्रवेश गर्नका लागि व्यवस्था बनाउन सम्बन्धित पक्षसँग छलफल गर्न निर्देशन दिएका छन् ।
त्यस्तै, उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गराउनका लागि नेपाल प्रहरीलाई निर्देशन दिन गृहमन्त्रालयलाई अनुरोध गरिने पनि मन्त्री घिसिङले बताए ।
मन्त्री घिसिङले राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनु पर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागु हुने गरी ठुला भारबाहन सवारी साधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न नगराउन अनुरोध गर्ने तथा खाध्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने गराउन पनि निर्देशन दिएका छन् ।
त्यस्तै, सडक स्तरोन्नति तथा सुधारका सम्बन्धमा मन्त्री घिसिङले देशैभरका मुख्य सडकलाई चुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपद्हरूको व्यवस्थापनका लागि आवश्यक सामग्री तथा यन्त्रहरूको व्यवस्थापन गर्नलगायतका निर्देशन दिएका छन् । सँगै बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा २४ सै घन्टा दुई तर्फी यातायात सञ्चालन गर्ने र नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध हटाउन पनि उनले निर्देशन दिएका छन् ।
तातोपानी नाका जोड्ने मुख्य सडक पनि दशैं अघि नै सञ्चालनमा ल्याउने गरि काम गर्न मन्त्री घिसिङले सडक विभागलाई निर्देशन दिएका छन् ।
आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने पनि उनले निर्देशन दिएका छन् । साथै, कार्यविधि र निर्देशिका सम्बन्धमाः सार्वजानिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि र निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेश गर्न निर्देशन दिने र कन्ट्रोल रुम सम्बन्धमाः मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने निर्णय पनि बैठकमा भएको छ ।









