Nepal Purbadhar

जलेको प्रधानमन्त्री कार्यालयमा भोलिदेखी रङरोगन सुरु हुने


काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्षति भएका संरचनाको मर्मत सम्भार सुरु गर्ने भएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङले सिंहदरबारभित्रका क्षति भएका संरचना तत्काल मर्मत गर्न निर्देशन दिएसंगै भोली बिहिबारदेखि नै काम सुरु हुने भएको छ ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले प्रधानमन्त्री कार्यालयसहितमा रङरोगन र मर्मतको काम थाल्न लागेको बताए ।

घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातयात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।

मंगलबार मन्त्री घिसिङले सिंहदरबारका सबै संरचना हेरेर सामान्य मर्मतपछि सञ्चालन गर्न सकिने संरचनाको काम तत्कालै गर्न निर्देशन दिएका हुन् ।

उनले निर्देशन लगत्तै काम सुरु हुन लागेको हो ।

मन्त्री घिसिङले विनाशबाट हामी उठ्यौं भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने, क्षतिको मूल्याङ्कन तत्काल गर्ने र हाम्रा संरचना हामी आफैं बनाऔं अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने बताए ।

‘कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, भित्री काम गदैं गरौंला तर बाहिरी भाग चिटिक्क बनाएर राख्नु पर्यो, क्षति पुगेका सवारी साधन सिंहदरबार परिसरमा यत्रतत्र छरिएर कुरुप देखिएको छ, तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गर्नुपर्छ, यसबाट हामी उठ्यौं भन्ने सन्देश जान्छ’, मन्त्री घिसिङले भने ।

त्यसै गरी उनले जलेका संरचना पुननिर्माणका लागि कोष समेत खडा गर्ने निर्णय गरेका छन् । क्राउड फण्डिङ जुटाएर सरकारी संरचना पुननिर्माण गर्न लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले समेत उक्त विषयमा स्वीकृति दिइसकेको छ ।

त्यसका लागि शहरी विकास मन्त्रालयले प्रस्ताव लगेको थियो । अहिले उक्त कोष कसरी सञ्चालन गर्ने फण्डिङ जुटाउने विषयमा गृहकार्य भइरहेको छ ।

संसारभरबाट उक्त कोषमा सहयोग जुटाउन मिल्ने गरी व्यवस्था गरिदैछ ।


Read Previous

काठमाडौँको नयाँ बसपार्कमा सवारीसाधनको पूजाआजा गरी मनाइयो विश्वकर्मा पूजा

Read Next

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar