
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पावर समिट २०२५ तत्कालका लागि स्थगित गरेको छ ।
मंगलबार बसेको कार्य समितिको बैठकले तत्कालका लागि पावर समिट रोक्ने निर्णय गरेको हो । ‘पछिल्लो विकसित घटनाक्रमका कारण हामीले पावर समिटि रोकेका छौं । ऊर्जामन्त्री ज्यूसंग पनि सल्लाह गर्छौं । सबैतिर सरसल्लाह गरेपछि नयाँ मिति तोक्छौं,’ इप्पानका महासचिव बलराम खतिवडाले भने, ‘हामी पावर समिट जसरी पनि गर्छौं ।‘

इप्पानले ‘पावर समिट २०२५’ तयारी थालिसकेको थियो ।
आसोज २९ र ३० गते काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटका लागि आधिकारिक लोगो सार्वजनिक समेत गरिसकेको थियो ।
यस संस्करणको पावर समिट ‘मिसन २८ हजार ५ सय मेगावट: पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको थियो ।
जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो ।अहिले सर्वोच्च अदालतको पूर्व प्रधानन्यायधिश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङले पाएका छन् । गृह मन्त्रालयको जिम्मेवारी ओम प्रकाश अर्याल र अर्थमन्त्रीको जिम्मेवारी रामेश्वर खनालले पाएका छन् । निजीसहित सरकार संरचाहरुमा आन्दोलनकारी तोडफोड र आगजनी गरेका कारण अर्थतन्त्रमा नै असर परेको छ ।
पावर समिटमा विदेशबाट समेत ठूलो संख्यामा सहभागी हुन आउने भएकाले विषम परिस्थितिलाई ख्याल गरेर केहि समय पावर समिट सारिएको हो ।