
काठमाडौं । जेनजी पुस्ताले गरेको आन्दोलनमा दूरसञ्चार कम्पनी एनसेलको चार ठाउँका कार्यालयमा आगजनी तथा क्षति भएको छ ।
एनसेलले एक सूचना जारी गर्दै काठमाडौंको मुख्य कार्यालय ‘एनसेल आइकन’सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भिर क्षति पुगेको जानकारी दिएको हो ।
आन्दोलनका कारण भएको क्षतिका बाबजुद पनि एनसेल सधैं झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने उद्देश्यमा अडिग रहेको बताएको छ । सूचनामा भनिएको छ, ‘संकटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म नि:शुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौं । हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौं र यसले हाम्रो ग्रहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्छ ।’
साथै, एनसेलले अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ देश अघि बढिरहेको बताउँदै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई समेत दिएको छ । सूचनामा भनिएको छ, ‘देशका युवाहरूको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई हामी स्वागत गर्दछौं ।’
सँगै एनसेलले आफूहरू थप रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणका लागि दृण संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्न प्रतिबद्ध रहेको बताएको छ ।
हेर्नुहोस सूचना
