
काठमाडौं । स्याफ्रुबेसी रसुवागढी सडकको टिमुरेसम्म गाडी सञ्चालनमा आएको छ ।
गएको असार २४ र साउन १४ गते आएको अकस्मात बाढीले रसुवाको गल्छी-त्रिशुली-स्याफ्रुवेशी-रसुवागढी सडक खण्डमा ठुलो क्षति पुर्याएको थियो । गल्छी-त्रिशुली-मैलुङ खण्डमा करिब १०० मिटर र मैलुङ–स्याफ्रुवेशी खण्डमा करिब ७०० मिटर सडक पहिरो र नदी कटानबाट क्षतिग्रस्त भएको थियो भने स्याफ्रुवेशी–रसुवागढी खण्डमा करीब १८ स्थानमा करिब १७०० मिटर सडक अवरुद्ब भएको थियो ।
सडक विभागदे मेशिन र उपकरण प्रयोग गरी कटान भएको ठाउँमा नया ट्रयाक खोल्ने कार्य निरन्तर गरिरहेको छ भने कठिन भूगोल तथा वर्षातका कारण काम चुनौतीपूर्ण भए पनि करिब १० दिनभित्र यातायात पूर्ण रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
खाल्टे क्षेत्रमा त्रिशुली नदीले सडक तथा स्थानीय घर जग्गा कटान गरेको स्थानमा ढुङ्गा भराई गरी भाद्र ५ देखि एकतर्फी यातायात सञ्चालन भएको छ ।
सडक विभागका अनुसार स्याफ्रुबेसी-रसुवागढी सडक खण्डमा पूर्ववत् करिब १३ किमी सडक यातायातका लागि खुला भइसकेको छ भने टिमुरे देखि रसुवागढी मितेरी पुलसम्म दुई स्थानमा करिब १५० मिटर सडकमा नया ट्रयाक बनाउने काम जारी छ ।
रसुवागढी नाकामा निर्माण हुने मितेरी पुलको लागि चीन तर्फ बेलिब्रिज जडान तथा जग निर्माणको काम भैरहेको भए पनि नेपाल तर्फको बेली ब्रिज को जग बनाउने कार्य हालसम्म सुरु हुन सकेको छैन ।
सडक विभागका महानिर्देशक डा.विजय जैसीका अनुसार निरन्तर कटान रोक्ने र सडक पुनःसंचालनका लागि काम गरिरहेको छ ।