
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भएको छ ।
आव २०८१/०८२ मा निजी क्षेत्रमा कर्जा प्रवाह ४ खर्ब २३ अर्ब ७३ करोड रूपैयाँले वृद्धि भएको हो ।
आव २०८०/०८१ मा निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशत अर्थात २ अर्ब ७६ अर्ब ९४ करोडले वृद्धि भएको थियो ।
आव २०८१/०८२ बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ ।
आव २०८०/०८१ मा यस्तो अंश क्रमश: ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।
त्यस्तै, निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६ प्रतिशतले विकास बैंकहरुको ६.१ प्रतिशतले र वित्त कम्पनीहरूको ८.४ प्रतिशतले बढेको छ ।
२०८२ असार मशान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालु सम्पत्तिको धितो प्रवाह भएको छ भने आव २०८१/०८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले बढेको छ भने यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको तर्जा ०.२ प्रतिशतले घटेको छ ।