
काठमाडौं । नेपालको व्यापारिक समूह एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगरको कम्पनी सुमो कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिले १० महिनामा ५२ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ ।
२०२५ को सुरुवाती १० महिनामा यो कम्पनीको व्यापार ५२ करोड २० लाख रुपैयाँ भएको हो ।
यसअघि २०२४ मा कम्पनीले १ अर्ब ५७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो भने २०२३ मा यसको कारोबार रकम २ अर्ब ५५ करोड ८० लाख रुपैयाँ थियो । २०२२ मा ३ अर्ब ३६ करोड १० लाख रुपैयाँसम्म कारोबार गरेको यो कम्पनीको व्यापार त्यसपछि भने निरन्तर घट्दै गएको छ ।
कम्पनीको कारोबार घट्नुको प्रमुख कारण यसले काम गरिरहेका प्रमुख तीन वटा ठेक्काहरु सम्पन्न हुनु र नयाँ ठेक्का नपाउनु रहेको छ । यो कम्पनीले पछिल्लो समय पुरा गरेका प्रमुख हाइड्रोपावरका कामहरुमा नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेड, ग्लोबल हाइड्रोपावर एसोसियट लिमिटेड र प्यान हिमालय इनर्जी लिमिटेडका आयोजनाहरू रहेका छन् ।
हाल यो कम्पनीसँग ८९ करोड ७० लाख रुपैयाँ बराबरको उपकरण रहेको छ, जसमा ४५ टिप्पर, १६ वटा एस्काभेटर, २२ वटा कन्क्रिट मिक्सर, २५ वटा लोटरलगायत रहेका छन् ।
२००९ मा स्थापना भएको यो कम्पनी मुख्य गरि हाइड्रोपावर आयोजनाहरुको निर्माणमा संलग्न रहेको छ । सम्पूर्ण सेयर स्वामित्व विवेक दुगरसँगै रहेको कम्पनीको व्यापारमा गिरावट भएतापनि मार्जिनमा भने सुधार आएको छ ।
कम्पनीको इबिआइटिडिए मार्जिन २०२२ मा १४.१९ प्रतिशत कायम भएकोमा २०२३ मा १५.४९ प्रतिशत मार्जिन कायम भएको थियो । २०२४ मा कम्पनीको मार्जिन २७.१५ प्रतिशत पुगेकोमा २०२५ को १० महिनामा भने कम्पनीको मार्जिन ३९.०८ प्रतिशत कायम भएको छ ।
हालका लागि भने यो कम्पनीले १ अर्ब रुपैयाँ बराबरको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्स नेपालले कम्पनीलाई ३४ करोड ४० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस, ३५ करोड ६० ला रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर र ३० करोड रुपैयाँको दीर्घकालिन/अल्पकालिन कर्जा सुविधाका लागि डबल बि माइनस/ए फोर रेटिङ दिएको छ ।