
काठमाडौं । नेपालको व्यापारिक समूह केडिया ग्रुपको कम्पनी ब्रिज ग्लास इन्डस्ट्रिज प्रालिले एक वर्षमा ४० करोडभन्दा बढिको कारोबार गरेको छ ।
ब्रिज ग्लासले २०२५ मा ४० करोड २० लाख रुपैयाँको कारोबार गरेको हो । यसअघि २०२४ मा कम्पनीले ३९ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
त्यस्तै, २०२३ मा भने कम्पनीको कारोबार ३४ करोड ६० लाख रुपैयाँ भएको थियो ।
२०१७ मा स्थापना भएको यो कम्पनी सिसाको उत्पादन तथा बिक्री गर्ने कम्पनी हो । कम्पनीसँग १२ हजार वर्ग फिट सिसा दैनिक उत्पादन गर्नसक्ने उद्योग रुपन्देहीमा रहेको छ ।
कम्पनीको व्यापारमा बृद्धि भइरहँदा यसको पिबिआइएलडिटी मार्जिन पनि बढेको छ । २०२३ मा १६.६३ प्रतिशत मार्जिन रहेको कम्पनीमा २०२४ मा १९.८९ प्रतिशत मार्जिन कायम भएको थियो ।
२०२५ मा भने कम्पनीको मार्जिन २२.२५ प्रतिशत कायम भएको छ ।
केडिया समूहको भएका कारण ब्रिज ग्लासमा बोर्ड अध्यक्षका रुपमा मनोज केडिया रहेका छन् ।
हालका लागि यो कम्पनीले ५० करोड ९० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई २३ करोड ९० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र २७ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।