
काठमाडौं । सरकारले असोज १ गतेबाट सबै किसिमका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटको जडान अनिवार्य गरेको छ ।
साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिव सहभागी विषयगत समितिको बैठकले असोज १ गतेबाट अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो । मंगलबार यातायात व्यवस्था विभागले पनि एक सूचना जारी गर्दै अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको छ ।
सरकारले अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेट यातायात विभागमा अनलाईनमार्फत वेदन दिएर त्यहाँमार्फत एम्बोस्ड नम्बर प्लेट जडानका लागि तोकिएका इकाईमा जानुपर्ने व्यवस्था गरिएको छ ।
सवारी तथा यातायात ऐन, २०४९ को अनुसूचि २ को भाग २ बमोजिम सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट जडान सम्बन्धी सेवाका लागि विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो ।
सो निर्देशिकाको दफा ७ को उपदफा १ को खण्ड ‘क’को उपखण्ड ६ सँग सम्बन्धित इम्बोस्ड जडानका लागि तोकिएको राजस्व दुई पाङ्ग्रेका लागि २ हजार ५०० रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै, तीन पाङ्ग्रेका लागि २ हजार ९ सय रुपैयाँ तोकिएको छ भने साना तथा मझौला चार पाङ्ग्रेका लागि ३ हजार २ सय रुपैयाँ दस्तुर तोकिएको छ ।
त्यस्तै, ठूला सवारीको हकमा भने ३ हजार ६ सय रुपैयाँ राजस्व तोकिएको छ ।