
काठमाडौं । चीन र भारतले मंगलबार दुई देशबीचको व्यापार लिपुलेक पासबाट गर्ने सहमति जनाएका छन् ।
भारत भ्रमणमा रहेका चीनियाँ विदेश मन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालको सहअध्यक्षतामा बसेको बैठकले दुई देशबीचको व्यापारलाई पुन: सञ्चालनमा ल्याउने सहमति गरेको हो । चीन र भारतले लिपुलेक, शिप्की ला र नाथु ला पासबाट दुई देशबीचको सीमापार व्यापारलाई सञ्चालनमा ल्याउने सहमति गरेको छ ।
लिपुलेक त्यहि क्षेत्र हो, जसलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भएको दाबी गरेका छन् । २०७७ मा प्रधानमन्त्री ओलीकै कार्यकाल रहेको बेला लिपुलेक तथा लिम्पियाधुराजस्ता क्षेत्रहरु समेटिएको औपचारिक नक्सा सार्वजनिक समेत भएको थियो । प्रधानमन्त्री ओलीले लिम्पियाधुरा र लिपुलेक सम्मिलित नक्सा ल्याएपछि आफूले प्रधानमन्त्री पदबाट हट्नुपर्ने अवस्था सिर्जना भएको भन्दै राष्ट्रवादको राजनीति पनि गर्दै आएका छन् ।
तर, भारतले भने उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै सो क्षेत्रमा नियन्त्रण पनि गर्दै आएको छ । नेपालले पटक पटक कुटनीतिक नोट पठाएर वार्ताका लागि कुरा गर्दा पनि भारतले यो कुरालाई बेवास्ता गरेको छ ।
हाल भने विवादित रहेको भूमिलाई नै प्रयोग गरेर भारत र चीनले सीमापार व्यापार गर्ने सहमति गरेका छन् । यसअघि १० वर्ष पहिले भारत र चीनले लिपुलेककै पास भएर व्यापार गर्ने सहमति हुँदा नेपालमा उक्त विषयको चर्को विरोध समेत भएको थियो ।