
काठमाडौं । विश्व विख्यात टेक कम्पनी एप्पलका लागि आईफोन उत्पादन गर्ने कम्पनी फक्सकोनले भारतमा आईफोन १७ को उत्पादन सुरू गरेको छ ।
इकोनोमिक्स टायम्सकाअनुसार बैगलुरूस्थित नयाँ कारखानामा आईफोन १७ को उत्पादन सुरु भएको हो ।
यो कारखाना फक्सकोनको चीनभन्दा बाहिर रहेकामध्ये दोस्रो ठूलो उत्पादन कारखाना हो । यहाँ २५ हजार करोड भारतीय रुपैयाँ लगानी गर्दै आईफोनको उत्पादनका लागि कारखाना बनाइएको थियो ।
यसअघि चीनले भारतमा आईफोन बनाउने ३ सयभन्दा धेरै इन्जिनियर र प्राविधिकहरुलाई फिर्ता बोलाएका कारण आईफोन १७ को उत्पादन रोकिएको थियो । यद्यपी हाल भने ताइवानलगायतका देशबाट विशेषज्ञहरु बोलाएर पुन: आईफोन १७ को उत्पादन सुरु गरिएको हो ।
पछिल्लो समय भारत आईफोन उत्पादनको हबका रुपमा बन्दै गएको छ । भारतमा यो वर्ष जुनसम्ममा २ करोड ३९ लाख आईफोनको उत्पादन भएको थियो । हाल अमेरिकामा बिक्री हुने ७८ प्रतिशत आईफोन भारतमा उत्पादन हुने गरेको छ ।