Nepal Purbadhar

संघीय राजधानी काठमाडौंको सडकको बिजोग


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधिसभामा विकाशको फेहरिस्त प्रस्तुत गर्दै गर्दा सङ्घीय राजधानी काठमाडौँकै ३१ नं वडाको शंखमुल गणेश मार्ग सडक भने महिनौँ देखि हिलाम्मे भएको छ ।

वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।

३१ नं वडाका वडा अध्यक्ष सरोज ढकालका अनुसार स्थानीय माग अनुसार ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको जानकारी दिए ।

सो सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा हिलाम्मे सडकमा स्थानीय सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

२०८२ असोज मसान्तसम्म काम सक्ने गरी श्री टुँडाल कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले एक करोड ७ लाख १९ हजार ३ सय २३ रूपैयाँ ६८ पैसामा भ्याट र पीएस बाहेक निर्माण सम्झौता गरेकोमा ढल निर्माण पश्चात् काम अगाडी बढ्न सकेको छैन ।

स्थानीय व्यापारी सरोज तिमल्सिना अनुसार वडा र ठेकेदारले राम्रो काम नगरे बताउँदै ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राखिनाले अहिले यो अवस्था आएको जनाए । वैशाख २८ गतेबाट खनिएको सडक अहिले पनि जस्ताको त्यस्तै हुनुमा वडा र ठेकेदार कम्पनीले लापरबाही गरेको स्थानीयले गुनासो गरेका छन् ।


Read Previous

पियोर इनर्जीको खुद नाफा ३ करोड १९ लाख, भदौ २४ मा बोलायो साधारणसभा

Read Next

अमेरिकी बजारमा निर्यात बढाउन १० प्रतिशत शुल्कको उपयोग गर्नुपर्नेमा जोड

Nepal Purbadhar