Nepal Purbadhar

म:म मा औंठी भेटिएपछि धरहरा टपरी ममलाई काठमाडौं महानगरको २ लाख जरिवाना


काठमाडौं । सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लघंन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

काठमाडौं महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको थियो । खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो ।

काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक-पटक महानगरको निर्देशन उल्लघंन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताए । “बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,” न्यौपानेले भने ।

महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैंक मार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री/वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।


Read Previous

पूर्वाधार निर्माण कम्पनी गठन गर्ने सरकारी निर्णयप्रति महासंघको आपत्ति ‘स्वदेशी उद्योग सिध्याउने प्रपञ्च’

Read Next

दीपल एस ०५ को दुई भेरियन्ट नेपाली बजारमा आयो,कति पर्छ मूल्य ?

Nepal Purbadhar