Nepal Purbadhar

प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध संयुक्त नागरिक पार्टीले जनायो आपत्ति


काठमाडौं । संयुक्त नागरिक पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको समावेशीता विरोधी अभिव्यक्तिप्रति आपत्ति जनाउँद खबरदारी गरेको छ ।

पार्टीले शुक्रबार माइतीघरमा एक विरोध कार्यक्रम आयोजना गर्दै प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

पार्टीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ नामक पुस्तक विमोचनको क्रममा यही आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको समावेशीता विरोधी अभिव्यक्तिप्रति पार्टी गम्भीर आपत्ति जनाएको हो ।

संविधानको रक्षा र कार्यान्वयन गर्नुपर्ने दायित्व लिएको सरकार प्रमुखको स्थानमा बसेको व्यक्तिले नै सम्विधानको मूल्य र मान्यता विपरित बोल्नु कानूनी तथा नैतिक रूपमा अस्वीकार्य रहेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘यो असम्वैधानिक अभिव्यक्तिप्रति आत्मालोचना गर्दै फिर्ता लिन तथा जिम्मेवार बन्न प्रधानमन्त्री केपी ओलीलाई हामी चुनौती दिन्छौँ ।’

सम्बोधन गरिनुपर्ने जल्दाबल्दा समस्याहरू, मिटरब्याज पीडित गरिब निमुखादेखि बाढीपहिरो पीडित सम्मका समस्याहरू रहेकोमा बहुविवाहको लागि ढोका खोल्ने गरी कानूनमा संशोधनको समेत प्रस्ताव गरिएको छ, जुन महिला अधिकार तथा पारिवारिक सुव्यवस्थाका लागि समेत कदापी स्विकार्य नरहेको पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।

उक्त विषयमा सरकारलाई खबरदारी गर्न, लामो संघर्ष र ठूलो बलिदानपछि प्राप्त गरिएका लोकतान्त्रिक हक अधिकारमाथिका हस्तक्षेपबारे सचेतना जगाउन, तथा आम नागरिकका जनजीविकाका मामिलाहरूमा राज्यको ध्यानाकर्षण गर्न शुक्रबार विरोध कार्यक्रम गरिएको पार्टीले जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

बूढीगण्डकीको नवनियुक्त सिइओ रजौरियाले लिए सपथ

Nepal Purbadhar