
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काम समयमा सकियोस् भन्ने जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् ।
स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै उनले विभागलाई विकास निर्माणका आयोजनाहरु समयमा सम्पन्न गर्ने गरि काम गर्न आव्हान गरेका हुन् ।
शहरी विकास मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुंगेपुल,सडकपुल,स्थानीय तहको प्रशासकीय भवन र साना सिञ्चाइ आयोजनाको काम गरिररहेको छ ।
‘विकास निर्माण र पूवाृधारसँग सम्बन्धित काम समयमा सकियोस् भन्ने जनताको चाहना पूरा गर्ने गरि काम गर्न लाग्नुस् । त्यसका लागि मनत्रालयबाट गर्नुपर्ने केही छ भने भन्नुहोला । मन्त्रालयबाट गर्नुपर्ने काम गर्छौ ,’ उनले भने ।
गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएकोमा असन्तुष्टि जनाउँदै उनले विगतका कमजोरी पहिचान गरि समाधान गर्दै आगामी वर्षमा उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले अघिल्लो वर्षको समिक्षाबाट सिक्द्रै आगामी वर्षका योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न समयमै काम शुरु गर्न पनि निर्देशन दिए ।कार्यवाहक प्रधानमनत्री सिंहले स्थानीय पूर्वाधार विकास विभागले चालू वर्षमा गर्ने योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
‘२०८२/८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । ईन्फ्रास्ट्रक्चर डेभलपमेन्टदेखि विकट स्थानमा निर्माण भइरहेका झोलुङ्गे पुलहरू समेत तोकिएको समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने ।
कार्यक्रममा मनत्रालयका सचिव गोपाल सिग्देलले कतिपय योजनाहरु डुप्लिकेसन भएको भन्दै आयोजना क्षेत्र प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरि सुनिश्चित गरेर मात्रै काम अगाडी बढाउन विभागलाई निर्देशन दिए ।
विभागका महानिर्देशन महेशचन्द्र न्यौपानेले कार्यक्रममा आव ०८१/८२ को वार्षिक प्रगति समीक्षा सम्बन्धि प्रस्तुतीकरण गरेका थिए ।