Nepal Purbadhar

काठमाडौं-तराई द्रूतमार्गको कामले लियो गति


काठमाडौं । राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ ।

नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तर नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको थिएन ।

अब भने कामले गति लिएको नपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आव २०८१/८२ को अद्यावधिक विवरण अनुसार आयोजनाको २०८२ असार मासान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत रहेको छ । यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत (मोविलाइजेशन सहित) रहेको छ । 

आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना-डुकुछाप खण्डमा जग्गा अधिग्रहण र द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय गर्ने कार्य भइरहेको छ।

आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्व ५४ करोड रहेको छ।

जग्गा खरिदको लागि दिइएको पेश्की रु १ अर्व ६५ करोड तथा निर्माण व्यवसायीलाई पेश्की दिइएको ८२.३७ करोड र विद्युत प्राधिकरणको लागि पेश्की  दिइएको रकम रु ९.८१ करोड सहित कुल २ अर्व ५७ करोड राजश्व दाखिला गरिएको रकम समेत समावेश गरिएकोले आयोजनाको खुद खर्च ७७ अर्व ९७ करोड रहेको छ ।

नमूना सडक बन्दै लेनडाँडा खण्ड

काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक सडक अन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । सो खण्ड अन्तर्गत ६ वटा पुल जसका कुल लम्बाई ११०७ मिटर रहेको छ भने २ वटा डबल ट्यूब सुरुङमार्गको ब्रेक थ्रु भई फिनिसिङ काम भई रहेको छ । त्यस्तै गरी ५ वटा कलभट पूर्णरुपमा निर्माण सम्पन्न भएको छ ।

सो सडक खण्डमा ८१ मिटरका अग्लो पुलको फाउन्डेसन निर्माण गरी  सुपरस्टक्चर निर्माणको काम थालिएको छ भने काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक सडक पहिलो पुल पुल नं ३५ को निर्माण सम्पन्न भएको छ ।

उक्त ३३३ मिटर लम्बाईको पुल निर्माण सम्पन्न भई सवारी साधन समेत सञ्चालन गरिएको छ ।

 तस्बिर/ भिडियो  : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी


Read Previous

काठमाडौ उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने बेला आयो : भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल 

Read Next

सडक सुरक्षा चुनौती बनी रहेको छ: यातायात मन्त्री दाहाल 

Nepal Purbadhar