Nepal Purbadhar

कसरी ऊर्जा विकासमार्फत नै समृद्धि हासिल गर्न सकिन्छ?


बलराम खतिवडा

महासचिव, इप्पान

नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको योगदान अतुलनीय छ । २०४९ सालमा विद्युत् ऐन लागू भएसँगै निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा प्रवेशको बाटो खुलेको हो । त्यसयता निजी क्षेत्रको सक्रियताले नेपालले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ। आजको दिनमा कुल विद्युत् उत्पादनको झन्डै ८० प्रतिशत योगदान निजी क्षेत्रबाट आएको छ । निजी क्षेत्रको उपस्थिति हुने थिएन भने नेपाल अझै अन्धकारमै हुने थियो भन्न सकिन्छ । नेपालमा ऊर्जा विकासमा काम गरेको निजी क्षेत्रको योगदान ठुलो र अविस्मरणीय छ । अझ प्रसारण लाइन र विद्युत् बिक्रीमा समेत अनुमति दिने हो भने निजी क्षेत्रले धेरै काम गर्न सक्छ । जसले नेपालको अर्थतन्त्र मजबुत बनाउन मद्दत गर्छ ।

एउटा आयोजना निर्माण हुँदा आयोजनाको काम मात्रै हुँदैन । निजी क्षेत्रले बनाएका आयोजनाले स्थानीयको सुविधाका लागि अस्पताल, विद्यालय, सडक,स्वास्थ्य चौकी,खानेपानी, खेल मैदानलगायत बनाउँछन् भने रोजगारीको अवसर समेत सिर्जना हुन्छ । जसले अर्थतन्त्रमा औपचारिक र अनौपचारिक रूपमा योगदान पुर्‍याउँछ ।

आयोजनाको छनोटदेखि गुणस्तरसम्म

जलविद्युत् विकासका लागि उपयुक्त आयोजना छनोट, समयमै निर्माण, वातावरणीय सन्तुलन र आर्थिक अनुशासन अत्यावश्यक छन् । सफल आयोजनाका लागि अनुभवी परामर्शदाता कम्पनीमार्फत प्रारम्भिक अध्ययन, वातावरणीय मूल्याङ्कन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुपर्छ । निर्माण समयमै सकियो भने लागत घट्छ । आयोजना निर्माणमा ढिलाइले लागत बढाउने मात्रै होइन, आयोजना आर्थिक रूपमा असफल पनि हुन सक्छ । निजी क्षेत्रले अधिकांश आयोजना समयमै, तोकिएको लागतभित्रै निर्माण गरी उदाहरणीय काम गर्दै आएको छ ।

वातावरणीय र प्राविधिक दक्षता

जलविद्युत् आयोजनामा वातावरणीय सन्तुलन अत्यन्तै महत्त्वपूर्ण पक्ष हो। दिगो विकास सुनिश्चित गर्नका लागि वातावरणप्रति संवेदनशीलता राख्दै निर्माण कार्य अगाडि बढाइनुपर्छ । आजको दिनमा ४०० देखि ५०० मेगावाट क्षमताका आयोजना निजी क्षेत्रले निर्माण गर्न सक्ने प्राविधिक र आर्थिक सामर्थ्य राखेको प्रमाणित भइसकेको छ, जुन मुलुककै लागि गर्वको विषय हो ।

जनसहभागिता र पुँजी संकलन

निजी क्षेत्रले सेयर निष्कासन मार्फत पुँजी संकलन गर्दै आयोजना विस्तार गरिरहेको छ । आयोजनाहरूमा ठुलो लगानी आवश्यक हुने भएकाले, क्राउड फन्डिङ र संघसंस्थाको साझेदारीसमेत भइरहेकै छ । यस्तो सन्दर्भमा सुशासन र पारदर्शिता अनिवार्य सर्त हुन् । आर्थिक अनुशासनमा रही काम गर्न सके मात्र दिगो र भरपर्दो ऊर्जा विकास सम्भव हुन्छ ।

सेयर बजारमा जलविद्युत् कम्पनीहरूको आकर्षण बढिरहेको छ । डिम्याट खाता भएका अधिकांश व्यक्तिले जलविद्युतमा लगानी गरिरहेको तथ्यांक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट पुष्टि हुन्छ । यसले देखाउँछ– निजी क्षेत्रमार्फत जनताको प्रत्यक्ष सहभागिता वृद्धि भइरहेको छ ।

उत्पादन विविधीकरण र प्रसारण पूर्वाधार

ऊर्जा सन्तुलन कायम गर्न अर्ध–जलाशय तथा जलाशययुक्त आयोजना र सोलर ऊर्जा आयोजनामा समेत ध्यान दिन आवश्यक छ । यस्ता आयोजनाले स्थायी उत्पादन सुनिश्चित गर्छन् । साथै, निर्माण चाँडो सकिने भएकाले छोटो समयमै ऊर्जा प्रवाह गर्न सकिन्छ ।

प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रको सहभागिता अपरिहार्य भइसकेको छ । अहिलेको अवस्थाले देखाउँछ कि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति नदिँदा वर्षा याममा उत्पादित बिजुली खेर गइरहेको छ । यसले राष्ट्रिय आय गुम्ने मात्र होइन, निजी क्षेत्रको उत्साहसमेत घटाएको छ । समयमै विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिन जरुरी भइसकेको छ ।

नीतिगत असहजता र असन्तोष

ऊर्जा विकासमैत्री नीतिको खाँचो छ । पछिल्लो समय बजेटमा प्रस्तुत ‘टेक एन्ड पे’ मोडेलले निजी क्षेत्रमा गम्भीर असन्तोष पैदा गरेको छ । विगतमा लागू ‘टेक अर पे’ मोडेलले विद्युत् खरिद–बिक्रीमा विश्वसनीयता दिँदै आएको थियो । तर, नयाँ मोडेल लागू भए निजी क्षेत्रका अर्बौँ लगानी डुब्ने खतरा देखिएको छ । ऊर्जा विकासमा अस्थिर नीति र अस्पष्ट कानुनले निजी लगानीमा अवरोध मात्रै होइन, जोखिमसमेत थपेको छ। यस्तो नीति तत्काल फिर्ता लिनुपर्ने आवाज निजी क्षेत्रबाट उठिरहेको छ ।

कानुनी, प्रशासनिक र संरचनागत सुधार

निजी क्षेत्रले लगानी गर्न सहज होस् भनेर सरकारले कानुनी स्पष्टता ल्याउनु जरुरी छ । नियमनमा पारदर्शिता, प्रक्रिया छरितो बनाउने, वातावरणीय अनुमति, जग्गा प्राप्ति र वन जङ्गलको उपयोगजस्ता विषयमा स्पष्ट, सरल र कार्यान्वयनयोग्य कानुन बनाइनुपर्छ ।

अहिले परियोजनाहरूले जग्गा प्राप्ति र वन क्षेत्र प्रयोगमा निकै अवरोध खेप्नुपरेको छ । यसले लागत र समय दुवै बढाउँछ । विदेशी लगानी भित्र्याउन र नाफा पुनः लगानीकर्तालाई फर्काउन सहज बनाउने नीतिहरू आवश्यक छन् ।

प्रदेश र स्थानीय सरकारको भूमिका

प्रदेश र स्थानीय सरकार परियोजना ल्याउन अग्रसर हुनु आवश्यक छ । आयोजना अघि नबढ्दै अवरोध गर्नु होइन, लगानीलाई आकर्षित गर्ने नीति र कार्यक्रम ल्याउनु आवश्यक छ । आयोजनाको सुरुआतपछि मात्र समस्या सिर्जना हुनु स्वाभाविक होइन ।

जलविद्युत परियोजना जोखिमपूर्ण हुने भएकाले बिमा पहुँच सुनिश्चित गरिनुपर्छ। बिमा कम्पनीहरू परियोजना बिमामा हिचकिचाउने अवस्था अन्त्य हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूको ऊर्जा क्षेत्रमा लगानी सीमा क्रमिक रूपमा बढाइनु आवश्यक छ ।

साथै, आयोजनामा प्रयोग हुने उपकरण (हाइड्रो मेकानिकल, गेट, पाइप) नेपालमै उत्पादन गर्न उद्योग स्थापना गर्न इच्छुकहरूलाई सरकारले प्रोत्साहन र सहुलियत दिनुपर्छ ।

सरकार र निजी क्षेत्र बिच सहकार्य, पारदर्शिता र विश्वासको वातावरण बन्यो भने ऊर्जा क्षेत्रमा अझ उल्लेखनीय सफलता हात पार्न सकिन्छ। सरकारको मुख्य जिम्मेवारी भनेको निजी क्षेत्रलाई बाधा होइन, साथ दिने नीति बनाउनु हो। लगानीमैत्री कानुन, स्पष्ट नीति र सुशासनयुक्त कार्यशैलीमार्फत मात्रै निजी क्षेत्र ऊर्जा विकासमा अझ प्रभावकारी रूपमा अग्रसर हुनसक्छ ।

Facebook Comments

Read Previous

उत्पादनका लागि तयार भएको मध्यभोटे कोसीमा पुगे हितेन्द्रदेव

Read Next

२१६ मेगावाटको बझाङ माथिल्लो सेतीमा लगानी जुट्यो, १४ बैंकले ४१ अर्ब ६० करोड लगानी गर्ने

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar