Nepal Purbadhar

अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धिसँग जोडौं: भौतिक पूर्वाधार मन्त्री दाहाल


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विश्वविद्यालय तथा विज्ञहरूले गर्ने अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धिसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

लामो समय लगाएर गरिएका अनुसन्धानहरू कागजमा त्यसै थन्किन नहुने भन्दै त्यसको कार्यान्वयन मार्फत उत्पादकत्व वृद्धिमा उपयोग गरिनु पर्ने बताएका हुन् ।
मकवानपुरको चित्लाङ स्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पुगी त्यहाँ भई रहेका अनुसन्धानहरू बारे जानकारी लिँदै मन्त्री दाहालले विज्ञहरूको ज्ञान र अनुसन्धानलाई त्यसै नथन्क्याउन सुझाव दिए । नेपाली विज्ञ तथा वैज्ञानिकहरूले गहन अध्ययन तथा अनुसन्धान गर्ने गरेको र त्यसको निष्कर्ष तथा परिणामलाई उपयोग हुने वातावरण बनाउन सरकारले ध्यान दिने पनि उनले बताए । 


विश्वविद्यालयले गरी रहेको च्याउ, जुम्ली मार्सी, कोदो, विभिन्न बनस्पति लगायतमा गरेको अध्ययन र प्राप्त नतिजाका आधारमा उत्पादकत्व वृद्धि गराई आर्थिक समृद्धिको यात्रा सहज बनाउन सकिने समेत उनको भनाई थियो । 
विश्वविद्यालयका अध्यक्ष राजेन्द्र ध्वज जोशीले अहिले सम्म विश्वविद्यालयले खेर जाने कुनै पनि अनुसन्धान नगरेको र गरेका अनुसन्धानका नतिजा किसान तथा उद्यमी सम्म पुर्‍याउने वातावरण बनाइन आवश्यक रहेको बताए । जैविक तथा अर्गानिक कृषि प्रणाली, वनस्पतिका विविध उपयोग आदि बारे अनुसन्धान भई रहेको भन्दै उनले यसको परिणामबारे आधारभूत तह सम्म जानकारी गराइने बताए । 


अवलोकनका क्रममा पुग्नु भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले अनुसन्धानबाट प्राप्त हुने नतिजाका आधारमा कृषि पर्यटन, कृषि उद्यम लगायतको विकास गर्न सकिने बताए । नेपाली विश्वविद्यालयहरूमा समेत विभिन्न देशका विद्यार्थीहरू अध्ययनका लागि आउन इच्छुक हुने गरेका आवश्यक वातावरण बनाउन जरुरी रहेको उनको भनाई थियो । 


यस्तै प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले अनुसन्धान कार्यक्रमलाई थप विस्तार गर्न आवश्यक रहेको बताए । विश्वविद्यालयले नेपालमा पाइने विभिन्न च्याउहरूका बारेमा अनुसन्धान गरी रहेको सहप्राध्यापक भूषण श्रेष्ठले जानकारी दिए । 


Read Previous

७ बुँदे सहमतिलाई कम नआँकौं : उपप्रधानमन्त्री सिंह

Read Next

नेपाली बजारमा भित्रियो एमजीको आकर्षक प्रिमियम गाडी आईएम सिक्स, कति पर्छ मूल्य ?

Nepal Purbadhar