
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन ।
बिहिबार सो सडकको निरीक्षण पछि उनले काठमाडौ जोड्ने छोटो यो सडक आर्थिक विकास र समृद्धीको सहयोगी समेत बन्न सक्ने बताए ।
यो सडकले मकवानपुरको कृषि उपज काठमाडौ सम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पु¥याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने विश्वास व्यक्त गरे । निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उहाँले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न समेत निर्देशन दिए।

उनले विकासका संरचनाहरुले नागरिकको जीवनमा समृद्धी ल्याउन सक्नु पर्ने बताए । यो सडक समेत आर्थिक विकासका दृष्टिकोणले महत्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनु पर्ने बताए ।
यस्तै सोहि क्षेत्रका प्रतिनिधी सभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले मकवानपुर तथा काठमाडौबासीका लागि मात्र नभई पूर्वी नेपाल सहित बाग्मती, मधेस र लुम्बिनी सँगको सम्पर्कका लागि समेत यो सडक महत्वपूर्ण रहेको बताए । यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक विना अवरोध र ढिलाई जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा जोड दिए ।

सडक विभागका महानिर्देशक डा। बिजय जैसीले भने कुनै पनि ढिला सुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने बताए ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागि काम अघि बढि सकेको छ ।

सडक डिभिजन काठमाडौका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक ८.५ किमि काठमाडौं र बाकी मकवानपुरमा पर्दछ ।
