
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार गल्छी-त्रिशूली- मैलुङ-स्याफ्रुबेसी- रसुवागढी सडकको निरीक्षण गरेका छन् ।
मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमा स्थित बाढीले बगाएको मितेरी पुल सम्म पुगेर निरीक्षण गरेको हो । त्यस क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीव्र पार्न निर्देशन दिए । नदीबाट हुने क्षति समेत नियन्त्रण तर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।
यस्तै उनले चीन तर्फ रोकिएका नेपालीको अवस्था बारे पनि चासो राखेका थिए ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनिया पक्षसंग समन्वय गरी नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए ।
चीन नेपाल मितेरी पुल निर्माणको कार्य चिनियाँ पक्षले छिटो अघि बढाउने सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
यस्तै सहसचिव शुभराज न्यौपानेले सडक अवरुद्ध हुन नदिने गरी निरन्तर मर्मतको काम भइरहेको बताए ।

बाढीका कारण चीन नेपाल जोड्ने मितेरी पुल ध्वस्त भएको छ । भने सडकहरु ठाउँ ठाउँमा भत्किएको छ । दशै अघि नै सञ्चालनमा आउने गरी चिनियाँ पक्षले बेलिबृज निर्माण गर्न लागेको छ ।

विकासका कामलाई गति दिन मन्त्री दाहाल आफै स्थलगत रुपमा निरीक्षणमा जाने गरेका छन् । उनी अहिले दैनिक जसो आयोजनाहरुको साइटमा नै गएर त्यहाँको समस्या बुझेर समाधानका लागि प्रयासहरु गरिरहेका छन् ।
