Nepal Purbadhar

रोटरी क्लब अफ बानेश्वरले रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण गर्‍यो


टोखा । रोटरी क्लब अफ बानेश्वरले इन्द्रायणी भुतखेल सामुदायिक वनसँगको सहकार्यमा “रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण कार्यक्रम” गरेको छ। कार्यक्रमअन्तर्गत कुल ४५० बिरुवाहरू रोपिएको छ । ५० वटा सिप्रसका बिरुवा र ४०० फलफूल तथा जडीबुटीका बिरुवा नर्सरी स्थापना गर्न वृक्षरोपण गरिएको हो ।

धुपी, तेजपत्ता, सुन्तला, मुन्तला, कागती, रोजमेरी, तुलसी लगायतका बहुपयोगी बिरुवा रोप्ने योजना अन्तर्गत यस कार्यक्रमले जैविक विविधता संरक्षणमा टेवा पुर्‍याएको छ । सामुदायिक वनको अनुरोधअनुसार सिप्रस बिरुवा वनको विशेष भागमा रोपिएको हो ।

वृक्षारोपणपश्चात सहभागी टोलीले नवस्थापित नर्सरीको अवलोकन गर्दै औपचारिक रूपमा ४०० बिरुवाहरू इन्द्रायणी भुतखेल सामुदायिक वनका प्रतिनिधिहरू श्री सुर्य मान डंगोल र श्री हरि नारायणलाई हस्तान्तरण गरियो । यी बिरुवाहरूलाई आवश्यक हेरचाह गरी स्थायीत्व प्राप्त भएपछि मात्र वन क्षेत्र वा अन्य उपयुक्त ठाउँमा रोप्ने योजना छ ।

कार्यक्रमले विगतको अनुभवलाई ध्यानमा राख्दै सिजनमा सिधा रोपाइँका साटो पहिला नर्सरीमा हुर्काउने विधि अपनाएको छ। वर्षायाममा रोपिएका ५०–६०% बिरुवा अत्यधिक पानीका कारण नष्ट हुने गरेको तथ्यका आधारमा यस वर्ष नयाँ तरिका अपनाइएको हो, जसले दीर्घकालीन सफलता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

नर्सरीको एक विशेष पहलका रूपमा कम्पोस्ट मल उत्पादन केन्द्र स्थापना गरिएको छ, जसमा वन क्षेत्रमा झरेका पात र घाँसलाई प्रयोग गरी जैविक मल उत्पादन गरिन्छ। प्रतिकिलो २५ रुपैयाँमा विक्री हुने यो मलले वन र नर्सरी व्यवस्थापनमा आर्थिक सहयोग पुर्‍याइरहेको छ ।

कार्यक्रममा ९ जना रोटेरियन, ४ जना सामुदायिक वनका स्वयंसेवक र २ जना रोटरी स्वयंसेवक गरी कुल १५ जनाको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूको सहकार्य र प्रतिबद्धताले हरित र दिगो भविष्यप्रतिको साझा दृष्टिकोणलाई स्पष्ट रुपमा झल्काउँछ ।

यो परियोजना वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, र स्रोतको आत्मनिर्भर उपयोगमा केन्द्रित दिगो विकासको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ ।  इन्द्रायणी भुतखेल सामुदायिक वन, टोखामा वृक्षरोपण गरिएको हो  ।


Read Previous

वीरगन्जमा खानेपानीको हाहाकार

Read Next

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको विशेष अफर !

Nepal Purbadhar